
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी गर्न ८ दलका शीर्षस्थ नेताहरू संघीय संसद् भवन नयाँ बानेश्वर पुगे।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित पुगेका राष्ट्रपति उम्मेदवार रामचन्द्र पौडेल प्रशन्न मुद्रामा देखिएका थिए।
शीर्ष नेताहरू हुल नै बाँधेर पौडेललाई राष्ट्रपतिको उम्मेदवारी दर्ता गराउन पुगेका थिए।
त्यसक्रममा पौडेलसँगै सभापति देउवा, प्रचण्ड, नेपाल र अर्जुननरसिंह केसी अग्रस्थानमा थिए। उनीहरू सबै मुस्कुराएका देखिन्थे।
उनीहरूभन्दा पछि कांग्रेस उपसभापति पूर्णबहादुर खड्का नेताहरू एनपी साउद, रमेश लेखक, भौतिक योजनामन्त्री नारायणकाजी श्रेष्ठलगायत नेताहरू देखिएका थिए।
लामो समयपछिको रस्साकस्सीपछि नेपाली कांग्रेसको नेतृत्वमा ८ दलबीच भएको सहमतिले राष्ट्रपतिमा पौडेललाई अघि सारेको हो।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘मैले सर्वसम्मत बन्ने इच्छा गरेको हो। निर्वाचनको दिनसम्म हुन्छ कि कोसिस रहन्छ। मैले अपेक्षा गरेको छु। एमाले अध्यक्ष ओलीजी पनि मसँग जेलमा बस्नुभएको हो। पुरानो साथी हो। उहाँले पनि सबैको साझा पदमा सहमति जुटाउन योगदान गर्नुहोला भन्ने विश्वास लिएको छु।’





