माघ १८, २०८०
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
फागुन १३, २०७९
मुखैमा आएको केन्द्र र प्रदेशको सत्ता गुमाउनु परेपछि निराशा व्यक्त गर्न आउनेसँग धुम्बाराहीको भाडाको घरमा कांग्रेस सभापति शेरबहादुर देउवाले भन्ने गर्थे– वि विल कम्ब्याक ।’ राष्ट्रपति र प्रधानमन्त्री दुवै आफ्नै दलले पाउनुपर्ने अडानका कारण सत्ता गुमाएको भन्दै देउवाको आलोचना पनि भयो ।
पहिलो कार्यकालको प्रधानमन्त्री दिन देउवा तयार नभएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमालेको कित्तामा पुगेर प्रधानमन्त्री बनेका थिए । प्रचण्डले साथ छाडिदिँदा केन्द्र र ४ वटा प्रदेशमा पहिलो र ३ प्रदेशमा दोस्रो दल रहेको कांग्रेस अविश्वसनीयरूपमा प्रतिपक्षी बन्न विवश भयो ।
तर, देउवाको ‘वि विल कम्ब्याक’ भन्ने टिप्पणी ६१ दिनमै यथार्थमा परिणत भएको छ । अर्थात्, देउवाले कांग्रेसलाई सत्ता राजनीतिको खेलमा ‘ब्याक’ गराएका छन् ।
बिच्किएर ओलीतिर पुगेका प्रचण्डलाई फिर्ता ल्याउँदै राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने गरी ८ दलको समर्थन जुटाउन सफल भएका छन् । माओवादी, जसपा, नेकपा एस, जनमत, लोसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको समर्थन जुटाउन कांग्रेस सफल भएको छ । यी दलको समर्थन कायम हुने भएपछि २५ फागुनमा पौडेलले जित्ने पक्कापक्की जस्तो देखिएको छ ।
यति मात्रै होइन, राष्ट्रपति चुनावमा फेरिएको यो समीकरणले केन्द्र र प्रदेशसका सत्ता पनि फेरिने संकेत देखिइसकेका छन् । २६ पुसमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भरिँदैन भनेको ‘ढोक्सा’ भर्न देउवा सफल भएका छन् । २६ पुसमा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि ओलीले कांग्रेसको ढोक्सामा माछा नपर्ने टिप्पणी गरेका थिए ।
‘यदि यो समर्थन जाल हो भने यो जाल माछा नभएको खोलामा फ्याँकेजस्तो हुने पक्का छ । ढोक्सा थापे पनि त्यसमा कुनै माछा पर्नेवाला छैन,’ ओलीले भनेका थिए ।
तर, अनायासै आफूविरुद्ध लागेका प्रचण्डलाई फर्काउन र विश्वासमा लिन सफल हुँदै देउवा ढोक्सामा माछा पार्न सफल भएका छन् । यो बीचमा अरू नेताले जस्तो तीतो नबोली रणनीतिक मुभ चाल्नु देउवाको सफलताको कारण बनेको छ ।
प्राध्यापक लोकराज बरालले यसलाई प्रधानमन्त्री बन्ने प्रक्रियादेखि नै एमाले अध्यक्ष ओलीको अस्वाभाविक र असीमित वर्चस्वको भोकको परिणाम भनेका छन् । ‘देउवाले नदिएपछि ओलीतिरबाट प्रधानमन्त्री बन्न प्रचण्ड सफल भए । तर प्रधानमन्त्री बन्ने प्रक्रियादेखि नै उनी ओलीको वर्चस्वबाट निस्सारहेका थिए,’ बरालले लोकान्तरसँग भने, ‘कांग्रेसको गल्ती र सोचविचार विना नै हत्तपत्त बनेको समीकरण ६१ दिनमै खल्बलिन पुगेको हो ।’
ओलीले माओवादीमाथि असीमित हैकम चलाउन खोज्दा नयाँ समीकरण बन्ने अवस्था आएको उनको विश्लेषण छ ।
‘प्रचण्ड ओलीतिर गए पनि उनले सुरक्षित महसूस नगरेपछि कांग्रेससँग विश्वासको मत मागेका हुन् । कांग्रेसले पनि विश्वासको मत दिएर कमजोरी तत्काल स्वीकार्यो,’ बराल भन्छन्, ‘कांग्रेसको विश्वासको मतप्रति खबरदारी गर्दै ओलीले ढोक्सा नथाप्न चेतावनी दिए, तर कांग्रेसले ढोक्सामा माछा पारेको छ ।’
शक्ति स्वार्थमा यस्तो हुँदा नेताहरूलाई लाभ भए पनि देशलाई घाटा हुने उनी बताउँछन् ।
‘नेपालको राजनीतिमा यस्तो भइरहन्छ । यसले राजनीतिक स्थायित्व हुँदैन भन्ने देखायो । १९९० मा भारतमा पनि १३ दिनमा सत्ता गुमेको थियो । नेपाल त्यस्तै बाटोमा छ,’ उनी भन्छन्, ‘नेपालको राजनीतिमा २००७ सालदेखि यस्तै हुँदै आएको छ । देश हितको होइन, कुर्सीमुखी र व्यक्तिमुखी लडाईं हो यो । संस्थाहरू बलियो नभएसम्म यस्तो भइरहन्छ ।’
संवैधानिक पदमा यसअघिका राष्ट्रपति डा. रामवरण यादव र विद्या भण्डारीले कार्यकारीजस्तो गरी पदको दुरुपयोग गरेपछि यो पदलाई कार्यकारी जसरी महत्त्व दिइएको उनी बताउँछन् ।
कसरी सफल भए देउवा ?
सभापति देउवानिकट नेता उदयशमशेर राणा एमाले र माओवादीबीचको अविश्वास र कांग्रेसको ‘रियलाइजेसन’ले यो समीकरण सम्भव भएको बताउँछन् ।
‘पुरानै गठबन्धनलाई निरन्तरता दिने प्रयास पुस १० बिहानसम्म पनि भएको थियो । तर, अकस्मात प्रचण्ड र ओली मिल्न पुगे । उनीहरूबीच पहिलो दिनदेखि नै अविश्वास देखियो । जे–जे भयो, अब मिलेर जाऊँ भन्ने प्रस्ताव पनि हाम्रोतर्फबाट गयो,’ राणा भन्छन्, ‘ओलीले प्रचण्डलाई घेराबन्दीमा हाल्न खोजे । राप्रपा र स्वतन्त्र पार्टीलाई महत्त्व दिने, माओवादीलाई ठूला मन्त्रालय नदिने बरु दबाब बढाउने नीतिमा ओली लागेपछि प्रचण्ड कांग्रेससँग काम गर्न सहज हुन्छ भनेर हाम्रो लाइनमा आउनुभएको हो ।’
प्रधानमन्त्रीबाहेक भागबन्डामा माओवादीले केही नपाउँदा प्रचण्ड खिन्न थिए, किनकी सरकारलाई कमाण्ड गर्ने उच्चस्तरीय राजनीतिक संयन्त्रको कमाण्डमा ओली थिए । सरकारको न्यूनतम् साझा कार्यक्रम पनि प्रचण्डले बनाउन पाएका थिएनन् ।
प्रधानमन्त्रीसँग हुनुपर्नेमध्येका अर्थ, गृह, परराष्ट्र, कानून कुनै मन्त्रालय उनीसँग थिएनन् । यस्तोमा राष्ट्रपति पनि एमालेको कित्तामा पुगे आफू शक्तिहीन हुने र राष्ट्रपति चुनावपछि ओलीको खेदाइमा पर्ने बुझाइमा पुग्न प्रचण्डलाई धेरै समय नै लागेन । यसैले उनलाई कांग्रेसँगको सम्बन्धमा पुग्नबाट रोक्न ओलीले दुई दर्जनपटक भेट्दा पनि सकेनन् ।
एमालेसँग मिल्दा आफ्ना कार्यकर्ता पनि चोर्ने नीतिमा ओली लागेकाले प्रचण्डले निरन्तर सहकार्य गरेर उनीसँग हिँड्न नचाहेको राणा बताउँछन् । १६९ सांसदको समर्थन पाएर प्रधानमन्त्री बनेका प्रचण्डलाई कांग्रेसले विश्वासको मत दिएर २६८ पुर्याएपछि ओलीको दबाब र प्रभाव कम भएको राणा बताउँछन् ।
२५ पुस साँझमा प्रचण्ड देउवाको धुम्बाराहीस्थित निवास पुगेर विश्वासको मत मागेका थिए । यो भेटमा देउवा एक्लै बसेनन्, उपसभापति पूर्णबहादुर खड्का र नेता कृष्ण सिटौलालाई पनि साथमा राखे । यो भेटमा देउवाले विश्वासको मत पाउनेमा ढुक्क हुन प्रचण्डलाई आश्वस्त पारेका थिए ।
कांग्रेसले विश्वासको मत दिएदेखि नै प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको नारा अघि सारेका थिए, किनकी विनाशर्त प्रचण्डलाई विश्वासको मत दिएपछि नै प्रचण्ड कांग्रेसप्रति विश्वस्त बनेको बताइन्छ ।
कसले तयार गर्यो देउवालाई ?
ठूलो दल भएपछि कांग्रेसले नै केन्द्रदेखि प्रदेशसम्म सरकार गठनको तयारी गरेको थियो । चुनावमा माओवादी, नेकपा एकीकृत समाजवादी, लोसपा, राष्ट्रिय जनमोर्चासहितको गठबन्धन कांग्रेसले बनाएको थियो ।
सरकारमा बहुमत पुग्नबाट ४/५ सीटले मात्रै गठबन्धन पछाडि थियो । तर, आफैंले नेतृत्व गरेको गठबन्धनले गराएको चुनावपछि सत्ताबाहिर पुग्दा पार्टी पंक्तिमा ठूलो सन्नाटा छायो । तर पनि देउवाले हार खाएनन् । प्रचण्ड ओली कित्ताबाट प्रधानमन्त्री भएलगत्तैदेखि देउवाले उनीसँग सम्बन्ध बनाउने प्रयास गरेका थिए ।
ओलीको असीमित दबाबबाट प्रचण्डलाई मुक्त बनाएर आफूतिर तान्ने रणनीति देउवाले १० पुसबाटै लिएको एक नेता बताउँछन् ।
‘माओवादी अर्को समीकरणमा गए पनि ओलीसामू टिक्दैनन् भन्नेमा सभापति हुनुहुन्थ्यो । यसैले प्रचण्ड प्रधानमन्त्री बनेदेखि नै सभापतिले प्रचण्डले धोका दिएको भन्दै आलोचनामा नउत्रिन पार्टी पंक्तिलाई निर्देशन नै दिनुभएको थियो,’ ती नेता भन्छन्, ‘यसपछि पार्टी एक ढिक्का भएको सन्देश दिने र जिम्मेवार नेताले अग्रसरता लिने गरी सभापतिले पार्टी पंक्तिलाई परिचालन गर्नुभएको हो ।’
कांग्रेस संंसदीय दलको बैठक १६ पुसमा बोलाइएको थियो । तर, देउवाले बैठकमा कुनै सांसदलाई बोल्ने समय दिएनन् । ठूलो पार्टी बनाएकोमा पार्टी नेतृत्व र मतदातालाई धन्यवाद दिएरै बैठक सकिएको घोषणा गरियो, किनकी देउवा प्रचण्डलाई विश्वासको मत दिने मनस्थितिमा पुगिसकेका थिए ।
प्रचण्डसँग सम्बन्ध विकास गर्ने प्रयासस्वरूप देउवाले विश्वासको मत दिने वातावरणविरुद्ध नजान पार्टी पंक्तिलाई सजग गराएका थिए । प्रचण्डविरुद्ध तीतो नबोल्ने र विनाशर्त विश्वासको मत दिने चलाखी देउवालाई शक्तिमा फर्काउने मुख्य हतियार बनेको चर्चा कांग्रेस वृत्तमा छ ।
प्रचण्डलाई विश्वासको मत दिन हुँदैन भनेर हस्ताक्षर गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माहरूलाई देउवाले यसपटक बढी विश्वास गरेका छन् । महामन्त्रीबाहेक प्रकाशमान सिंह, प्रदीप पौडेल र अर्जुननरसिंह केसी पनि विश्वासको मतको पक्षमा थिएनन् । पुस १० अघि देउवाले आफ्नो टीमका उपसभापति पूर्णबहादुर खड्का, नेताहरू डा. प्रकशशरण महत, ज्ञानेन्द्रबहादुर कार्कीसहितलाई मात्रै विश्वास गरेका थिए । तर देउवा त्यतिबेला असफल भए ।
यसपटक भने देउवाले संस्थागत अभ्यास गरेर नेतामाथि भरोसा नै गरे । अघिल्लोपटक महामन्त्रीद्वय थापा र शर्माले बेवास्ता गरेपछि यसपटक देउवाले यिनै नेतालाई पनि वार्ता र संवादमा लिएर हिँडे ।
महामन्त्री थापालाई प्रधानमन्त्री प्रचण्डसँग वार्ता गर्न दुई–दुईपटक पठाए । थापालाई पठाएर देउवाले आफू संस्थागत हिसाबले अगाडि बढ्न तयार रहेको सन्देश दिएका थिए । देउवाले विश्वास गरेपछि फागुन लाग्नेबित्तिकै गगनले फागुनको पहिलो साता १० दिनमा यो गठबन्धन भत्काउने चेतावनी दिएका थिए ।
देउवाले जिम्मेवार नेतालाई यसरी खटाएपछि कांग्रेसप्रति भरोसा गर्ने ठाउँमा प्रचण्ड पुगेको बताइन्छ । पार्टीका उपसभापति धनराज गुरुङ अर्को टीमका भए पनि यसपटक देउवाले केही वार्ता र संवादमा खटाए ।
यतिमात्रै होइन यसपटक पार्टी एक भएको सन्देश दिन देउवा सफल भए । उनले पार्टीमा आरोप–प्रत्यारोप हुने अवस्था आउन नदिन केन्द्रीय समिति बैठक तीनपटकसम्म स्थगित गरे । बैठकमा पार्टीले सत्ता र शक्तिको अवसर गुमाएको आलोचना सुन्नुपर्थ्यो । प्रचण्डप्रति बैठकमा रोष प्रकट हुने सम्भावना धेरै थियो । यसैले देउवाले चुनावी समीक्षा बैठकलाई राष्ट्रपति चुनावसम्मका लागि स्थगित नै गराइदिए ।
यतिमात्रै होइन डा. शेखर कोइराला पक्षको गुटको भेला देउवाकै निर्देशनमा रोकिन पुगेको थियो । यसपटक पार्टीभित्रको विरोधी खेमाको नेता भए पनि डा. शेखर कोइरालालाई समेत उत्तिकै विश्वास गरे । यही विश्वासमा शेखरले हरेक भाषणमा राष्ट्रपति कांग्रेसले पाउने भन्दै सभापतिको लाइनमा निरन्तर पैरवी नै गरिदिए । जसले कांग्रस एक भएको सन्देश प्रवाह गर्यो ।
गगन र विश्वप्रकाशले सार्वजनिक मञ्चबाट देउवा र विश्वासको मतविरुद्ध बोले तर शेखर चुपचाप देखिए । विश्वासको मत दिने विषयमा टीमको छुट्टै बैठक डाकेर फरक मत देखाएनन् । बरु धनराज गुरुङ, सहमहामन्त्रीहरू जीवन परियार, बद्री पाण्डेसहितका प्रभावशाली नेतालाई विश्वासको मतको विरोधमा नजान तयार पारे ।
अघिल्लोपटक उनकै क्याम्पका केही नेताले धेरै हठ गर्दा अवसर गुमेको रिपोर्टिङ देउवाकोमा पुगेको थियो । तर यसपटक देउवाले पुरानो गल्ती दोहोर्याएनन् ।
यसपालि देउवाले पूर्णबहादुर खड्कालाई सबैभन्दा अगाडि लगाएर वार्ता र संवादमा खटाए । प्रधानमन्त्रीसँग वार्ता र संवादका लागि उनै खड्कालाई देउवाले पटक–पटक पठाएर सँगै हिँड्ने आधार तयार गरेको देउवानिकट एक नेता बताउँछन् । देउवाको टीममा उनीसँग खरो ढंगले कुरा गर्न सक्ने र सम्झाउन सक्ने पात्र नै खड्का हुन् ।
अघिल्लोपटक प्रचण्डलाई रोक्न हरसम्भव प्रयास गरेर पनि सफल नभएका खड्काले यसपटक धेरै नै आधार तयार गरेको बताइन्छ ।
‘अघिल्लोपटक केही नेताले माहोल बिगारेको रिपोर्टिङ सभापतिलाई भएको थियो । यसैले पुरानो गल्ती नदोहार्याई अघि बढ्ने तयारीमा सभापति लाग्नुभयो,’ ती नेता भन्छन्, ‘यसैले यसपटक उपसभापति खड्कालाई मुख्य जिम्मेवारी दिएर खटाउँदा नतिजा आयो ।’
यसमा डा. प्रकाशशरण महत, एनपी साउद, रमेश लेखकजस्ता नेताले नजिकबाट सहयोग गरेको बताइन्छ ।
अनुभवी नेताको साथ
देउवाले यसपटक नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई पनि उत्तिकै विश्वास र भरोसा गरे, किनकी माओवादी शान्ति प्रक्रियामा आएदेखि नै प्रचण्डसँग पौडेल र सिटौलाले निकै नजिक भएर काम गरेका थिए । यो परिस्थिति बुझेरै देउवाले यसपटक पौडेल र सिटौलालाई पटक–पटक वार्ता गर्न पठाए ।
यी नेतामाथि भरोसा र विश्वास कायम रहेको देखाउन देउवाले रणनीतिक रूपमा नै राष्ट्रपतिको चर्चामा रहेको भनेर पार्टी बैठकमै नाम लिएका थिए ।
‘सभापतिले त्यत्तिकै राष्ट्रपतिका मुख्य दाबेदार पौडेल र सिटौला हुन् भनेर बोल्नुभएको होइन,’ देउवानिकट स्रोत भन्छ, ‘यी दुवै नेता प्रचण्डसँग राम्रो सम्बन्ध भएका नेता हुन् । यसैले दुवैलाई अघि सार्दा पार्टीको पक्षमा सकारात्मक माहोल बन्ने बुझाइ सभापतिको देखिन्छ । राष्ट्रपतिको उम्मेदवार बन्नैका लागि यी दुवै नेताले पार्टीको पक्षमा सक्दो वातावरण बनाउन भूमिका खेलेका थिए, जुन रणनीतिक थियो । यसैले आज नतिजा आएको हो ।’
प्रचण्डलाई विश्वास दिलाउन पौडेल र सिटौलाले जनार्दन शर्मालाई समेत भेटेर माहोल बनाएका थिए, किनकी जनार्दन पुरानो गठबन्धनको पक्षमा देखिएका थिए ।
शक्ति राष्ट्रको भूमिका !
यो बीचमा शक्ति राष्ट्रका उच्चस्तरीय भ्रमण र भेटवार्ता पनि निकै भए ।
जटिल भूराजनीतिक अवस्थितिका कारण नेपालका हरेक राजनीतिक गतिविधिमा शक्ति राष्ट्रहरूको प्रभाव रहने गरेको भन्ने विषय नौलो हैन ।
यहाँ हरेक घटनाक्रमलाई दुई ठूला छिमेकी र पश्चिमको चासोसँग जोडेर हेर्ने गरिन्छ ।
मुख्यतः दक्षिणी छिमेकी अलि बढी हावी हुँदै आएको विश्लेषण हुने गर्छ । दक्षिणी छिमेकीसँग लाइन मिलाउने काममा देउवापत्नी आरजू राणा नै बढी सक्रिय भएको कांग्रेसका एक नेता बताउँछन् ।
‘पहिले–पहिले भारतसँगको सम्बन्धका लागि अरू नेता खटिन्थे, तर यसपटक आरजू भाउजूले नै प्रत्यक्ष भूमिका निभाउनुभयो,’ कांग्रेसका ती नेता भन्छन् ।
यसमा केही भूमिका सुनिलबहादुर थापा र उदयशमशेर राणाले पनि निभाएको बताइन्छ ।
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...