
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल भारतको बेंङलुरुमा आयोजित जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिएर शनिबार राति ९ बजे स्वदेश फर्केका छन् । सम्मेलनमा गएका बेला उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थमन्त्रालयका उपमन्त्री वाङ दङवैलगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेको उनको सचिवालयले जनाएको छ ।
जी २० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार गरी दुई दिन चलेको थियो । सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडल फागुन ११ गते भारत गएका थिए । नेपाल जी २० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेकाले अर्थमन्त्री पौडेल सम्मेलनमा सहभागी भएका थिए ।