
मकवानपुरमा हिजो भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ । इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभीमा भएको मोटरसाइकल दुर्घटनामा परी उनीहरुको मृत्युभएको हो ।
हेटौँडा–भीमफेदी–फाखेल–फर्पिङ सडकखण्डको हेभीमा शनिबार काठमाडौँबाट हेटौँडातर्फ जाँदैगरेको बा ७३ प ९०६० नम्बरको मोटरसाइलक दुर्घटनामा परी दाङ घर भएका आशिका चौधरीको मृत्युभएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको थियो । मोटरसाइकलमा सवार २३ वर्षीय चौधरीको ढुङ्गामा टाउको ठोक्किदा घटनास्थलमा मृत्युभएको घिमिरेले बताए । मोटरसाइकल चालक काठमाडौँ महानगरपालिका ५ थानकोटका ओमकुमार रानामगर घाइतेभएका छन् ।
सोहीअनुसार इन्द्रसरोवर गाउँपालिका २ स्थित हेभी क्षेत्रमा हेटौँडाबाट काठमाडौँतर्फ आउँदैगरेको गरेको बा ९० प २६०० नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकल चालक विकास जयसवालको मृत्युभएको छ । मोटरसाइकल दुर्घटनामा परी टाउकोमा चोट लागेका गौतम कुमारको हेटौँडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक घिमिरेका अनुसार ३८ वर्षीय जयसवाल र १८ वर्षीय गौतमकुमार दुवै काठमाडौँमा डेरा गरी बस्दै आएका थिए । जयसवाल भारतीय नागरिक हुन् ।