
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने प्रचण्डको निर्णयपछि सामाजिक सञ्जालमा एमाले र माओवादी कार्यकर्ताबीच जुहारी चलिरहेको छ । रंग बदलेको छेपारोको फोटो हाल्दै एमाले नेता–कार्यकर्ता प्रचण्डलाई धोकेबाजको संज्ञा दिइरहेका छन् ।
प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस उम्मेदवारलाई समर्थन गर्छन् भन्ने जानकारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पहिलै थियो । पुस २६ गते नै ओलीले आफ्ना विश्वासपात्रहरूलाई माओवादीले जुनसुकै बेला धोका दिनसक्ने संकेत दिएका थिए । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएसँगै एमाले र माओवादीबीच अविश्वासको बिउ रोपिएको थियो ।
प्रधानमन्त्रीमा कांग्रेसको समेत विश्वासको मत पाएपछि प्रचण्डले ओलीसँगको भेटमा सधैं उस्तै कुरा गर्ने गरेको एमाले नेताहरू बताउँछन् ।
‘राष्ट्रपतिमा कसैलाई समर्थनको वाचा गरेर उहाँले एमालेसँग औपचारिकताका लागि मात्र छलफल गरिराख्नुभएको हामीले छनक पाएका थियौं, हाम्रो अनुमान सही साबित भयो,’ पछिल्लो राजनीतिक घटनाक्रमबारे एमालेका एक पदाधिकारीले लोकान्तरसँग भने ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिनेक्रममा सशंकित ओलीले कांग्रेसले थापेको ‘ढोक्सा’मा माछा नपर्ने टिप्पणी गरेका थिए । घटनाक्रमले ओलीको आशंका वास्तविकतामा परिणत भयो । सरकार गठन भएको दुई महिनामै प्रचण्डले ‘कोर्स करेक्सन’ गरेर राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको पक्षमा पार्टीबाट प्रस्तावक र समर्थक नै राखे ।
राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गरेसँगै ऊसँगको सहकार्य टुटेको निष्कर्ष एमालेले निकालेको छ । भलै, सुवास नेम्वाङको उम्मेदवारी दर्तापछि पनि ओलीले पुस १० गतेको सहमति कायम रहेको र आफ्नै उम्मेदवारले जित्ने दाबी गर्न छाडेका छैनन् । माधव नेपालदेखि बाबुराम भट्टराई हुँदै अमिक शेरचनसम्मको नाम प्रस्ताव गरेका ओलीले उम्मेदवारी दर्तापछि पुस १० गते नै नेम्वाङको नाम टुंगो लागेको र डिस्क्लोज मात्र नभएको दाबी गरेका थिए ।
राष्ट्रपतिको उम्मेदवारी मनोनयनसँगै बालकोटमा बनेको गठबन्धनको लगनगाँठो फुस्किन शुरू भइसकेको छ । अहिलेको संसद्मा एमालेको ‘स्याटेलाइट’ पार्टी भनिने राप्रपा समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिइसकेको छ । एमाले पर्ख र हेरको रणनीतिमा छ ।
कम्तीमा पनि फागुन २५ गतेसम्म सरकारबारे केही निर्णय नगर्ने एमालेको रणनीति छ । फागुन २५ मा राष्ट्रपतिको निर्वाचन सकिएपछि मात्र एमालेले सरकारबारे निर्णय गर्ने नेताहरूले बताएका छन् ।

कहाँबाट बिग्रियो एमालेसँग कुरा ?
चुनावअघि नै पहिलो कार्यकालको प्रधानमन्त्री बन्ने सुनिश्चितता गरेका प्रचण्डलाई कांग्रेसले धोका दिएपछि प्रधानमन्त्री बन्न बालकोटको सहारा लिएका थिए । कांग्रेसबाट धोका पाएका प्रचण्डलाई ओलीले प्रधानमन्त्रीमा प्रस्ताव गरेका थिए ।
प्रचण्ड स्वयंले आफ्नो कुरा राख्न नसकेपछि ओलीले नै ‘तपाईं प्रधानमन्त्रीमा समर्थन खोज्न आउनुभएको होइन ?’ भनेर प्रचण्डको मनको कुरा खोलिदिएका थिए । ओलीले नै राप्रपा र रास्वपालाई बोलाएर प्रचण्डको पक्षमा समर्थन जुटाइदिए । बालकोट पुगेको ६ घण्टामा प्रचण्ड प्रधानमन्त्री नियुक्त भइसकेका थिए ।
प्रचण्ड प्रधानमन्त्री भएको केही दिनमा ओलीले वर्तमान सरकार ‘मेड इन नेपाल’ भएको र यसलाई टिकाइराख्ने चुनौती रहेको बताए ।
पुस २३ गते नवनिर्वाचित सांसदलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘नेपालीले नेपालमा सरकार बनाउन नपाउने, चलाउन नपाउने यस्तो पनि हुन्छ ? त्यस कोर्सलाई परिवर्तन गर्यौं । यो नेपालीले बनाएको सरकार हो । अहिलेको परिवर्तनमा यो महत्त्वपूर्ण कुरा हो ।’
माओवादी अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको सरकारविरुद्ध देखिने गरी वैदेशिक हस्तक्षेप चलिरहेको ओलीले टिप्पणी गरेका थिए ।
‘नेपालीलाई बनाउन नदिने चाँजोपाँजो थियो, यो ज्यादै ठूलो महत्त्वपूर्ण उपलब्धि हो । यो बाह्य हस्तक्षेपका विरुद्ध हाम्रो एकता हो । हामी सार्वभौमसत्ता सम्पन्न राष्ट्र हौं भन्ने कुराको अनुभूति सानो होइन’, ओलीले भनेका थिए ।
ओलीले वर्तमान सरकारलाई ‘मेड इन नेपाल’को संज्ञा दिएकोमा प्रचण्ड सन्तुष्ट थिएनन् । यसले कुनै छिमेकीलाई पिन्च पर्ने उनको बुझाइ थियो ।
२०६७ मा झलनाथ खनाललाई प्रधानमन्त्री बनाउँदा प्रचण्डले यस्तै अभिव्यक्ति दिएका थिए । ‘नेपालीको आत्मनिर्णयको अधिकार’ले बनाएको दाबी गरेपछि झलनाथ सरकार ६ महिनामा गिर्यो । खनाललाई भारत भ्रमणको निम्तो समेत आएन ।
पुस ११ गते रवि लामिछानेलाई गृहमन्त्री प्रस्ताव गर्दा नै प्रचण्ड ओलीसँग झस्किएको माओवादी स्रोत बताउँछ । ‘पावर शेयरिङ कसरी गर्ने भनेर रविले प्रश्न गरेपछि प्रचण्ड बोल्न नपाई ओलीले नै तपाईंलाई गृहमन्त्री चाहिएको हैन, लैजानुस् । बाँकी हामी मिलाउँछौं,’ भनेको माओवादी स्रोत बताउँछ । पुस ११ गते प्रचण्डले माओवादीकै कुनै नेतालाई गृहमन्त्री बनाउन चाहेका थिए ।
सरकारको न्यूनतम् साझा कार्यक्रम सार्वजनिक गर्ने क्रममा पनि प्रधानमन्त्री प्रचण्डभन्दा एमाले अध्यक्ष केपी शर्मा ओली हावी भए । कार्यक्रम सार्वजनिक गर्दा मुख्य कुर्सीमा ओली बसेका थिए । ओलीको अभिव्यक्ति र हाउभाउप्रति कटाक्ष गर्दै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिंजडामा पार्ने प्रयास भएको टिप्पणी गरेका थिए ।
शुक्रवार राष्ट्रपतिमा माओवादीले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेलगत्तै विश्वप्रकाशले ट्वीटरमा लेखे, ‘पिंजडा भत्कियो ।’

बिहीवारसम्म आइपुग्दा प्रचण्डसँगको तिक्तता कतिसम्म भने, फागुन १ गतेका लागि सरकारले दिएको बिदालाई ओलीले ‘हिंसा दिवस’ भनिदिए । राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्न ठिक्क परेका प्रचण्डलाई ओलीको पछिल्लो अभिव्यक्ति काँडा बिझेजस्तो भयो । माओवादीहरू फागुन १ लाई ‘महान् जनयुद्ध दिवस’ भन्छन् ।
फागुन ८ गते पार्टी पदाधिकारी बैठकमा प्रचण्डले ओलीसँग दुई महिनाको सहकार्यले आफू आजित भएको सुनाएका थिए । उच्चस्तरीय संयन्त्रको संयोजकका रूपमा प्रधानमन्त्रीभन्दा ओली हावी हुन खोजेको गुनासो प्रचण्डको थियो ।
सभामुख र राष्ट्रपति निर्वाचनपछि ओली झनै हावी हुने र आफूलाई कर्नरमा पार्ने महसूस प्रचण्डले गरेका थिए । राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गराएको दिन प्रचण्डले ओलीको मान्छेलाई राष्ट्रपति बनाउँदा दुःख पाइने बताएका थिए ।
प्रचण्डको घाँटीमा अस्थिरताको अर्को तक्मा !
कहिले कांग्रेस र कहिले एमालेसँग समीकरण बनाएर सत्ताको मियोमा रहेका प्रचण्डमाथि सधैं अस्थिरताको आरोप लाग्ने गर्छ । प्रचण्डले खेलेर विचौलियाको काम गरेको भन्दै पुस १० गते अघिसम्म एमालेले कांग्रेसलाई नै सरकार चलाउन दिने संकेत गरेको थियो ।
प्रचण्ड स्वयं भने यसलाई ‘गतिशील’ भएको भन्न रुचाउँछन् । संसद् सम्बोधनका क्रममा प्रचण्डले धेरैजनालाई प्रधानमन्त्री बनाएर विश्व रेकर्ड बनाएको दाबी गरेका थिए ।
हुन पनि ओलीलाई दुईपटक प्रधानमन्त्री बनाउन प्रचण्डको भूमिका थियो । २०७२ मा संविधान जारी गरेलगत्तै प्रचण्डकै प्रस्तावमा ओली प्रधानमन्त्री बनेका थिए । दुर्भाग्य! प्रचण्डकै अविश्वासको प्रस्तावले ओली बाहिरिनुपर्यो । सरकारले संसदमा पेश गरेको बजेट पारित नहुँदै ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको थियो ।
२०७४ सालमा दोस्रोपटक ओलीलाई प्रधानमन्त्री बनाउन पनि प्रचण्डकै भूमिका निर्णायक थियो । ओलीलाई सत्ताच्युत गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अध्यायको साक्षी पनि प्रचण्ड नै हुन् । २०७३ सालमा ओलीलाई विस्थापित गरेर आफू प्रधानमन्त्री बनेका प्रचण्डकै प्रयासमा देउवा २०७४ सालमा चौथो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए ।
२०७८ सालमा ओलीलाई विस्थापित गरेर देउवालाई पाँचौं प्रधानमन्त्री बनाउने मुख्य योजनाकार पनि प्रचण्ड थिए । झलनाथ खनालदेखि, बाबुराम भट्टराईसम्मलाई प्रधानमन्त्री बनाउनमा प्रचण्डको भूमिका थियो ।
संक्रमणकालीन अवस्थामा प्रचण्डले विभिन्न सरकारको समीकरण गरे पनि अहिले स्थिरताको कामना गरिरहेको मुलुकमा प्रचण्डको भूमिका कारण फेरि एकपटक देश राजनीतिक अस्थिरताको भुमरीमा पर्ने आशंका गरिँदैछ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली प्रचण्डको पछिल्लो निर्णयले देशलाई अस्थिरतामा लैजाने टिप्पणी गर्छन् ।
‘मुलुकलाई अन्तहीन अस्थिरतामा लैजाने निर्णय भयो भन्ने एमालेको ठहर छ । राजनीतिमा कति धेरै धोकाधढी, दाउपेच र कुनै कुरालाई विश्वास गर्न नसकिने खालका छुद्र खेल हुन्छन् भन्ने देखायो,’ प्रचण्डको पछिल्लो निर्णयबारे ज्ञवालीले भने, ‘समग्र घटनाक्रममा बाह्य पक्ष सक्रिय भएका र दौडधूप गरेको देखियो, यसले नेपालको स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कुण्ठित पारेको अवस्था छ । समष्टिगत रूपमा दुर्भाग्यपूर्ण निर्णय भयो ।’
राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुमा शक्तिकेन्द्रको दबाब रहेको कुरा माओवादी नेताहरू स्वीकार्छन् । नेपालमा ‘गैर कम्युनिस्ट राष्ट्रपति’ होस् भन्ने भारतको चाहना रहेको बताइन्छ ।
गत बुधवार प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले नेपालमा राष्ट्रपतिको निर्वाचनको पूर्वसन्ध्यामा भारतीय विदेश सचिवले अस्वाभाविक चलखेल गरेको भन्दै विरोध गरेका थिए ।
कांग्रेसलाई राष्ट्रपति बनाउन प्रचण्डले जोडबल गर्नुको अर्को कारण चाहिँ शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने योजना पनि हो । शान्ति प्रक्रिया पूरा गर्ने मामिलामा एमालेभन्दा कांग्रेस जिम्मेवार रहेको प्रचण्डले पार्टी बैठकमा सुनाएका थिए ।
एमालेलाई प्रतिपक्षमा राखेर संसद् चलाउन सहज छैन भन्ने प्रचण्डले बुझेका छन् ।
पुस ९ गतेसम्म कांग्रेससँग सहकार्य, पुस १० मा एमालेको सहकार्य र फागुन १२ पछि फेरि कांग्रेससँग टाँसिएर प्रचण्डले आफूलाई एक अवसरवादी नेताको रूपमा उभ्याएका छन् ।
तत्कालका लागि प्रचण्डले चतुर्याइँ देखाए पनि निकट भविष्यमा एमालेले कांग्रेसलाई नै प्रधानमन्त्री अफर गरेर प्रचण्डलाई चक्मा दिने खेल भयो भने आश्चर्य मान्नुपर्ने देखिन्न ।