
प्रधानमन्त्री पुष्पकमल दाहाल अतिकम विकसित राष्ट्रहरूको पाँचौं सम्मेलनमा भाग लिन कतार जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी सो जानकारी गराएको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल यही फागुन १९ गते शुक्रबार सो सम्मेलनमा सहभागी हुन कतारको दोहा प्रस्थान गर्नु हुने बताइन्।
त्यसक्रममा प्रधानमन्त्री दाहालले सो सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसैगरी सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरूसँग पनि प्रधानमन्त्री दाहालले द्विपक्षीय भेटवार्ता गर्ने पनि कार्यक्रम तय गरिएको छ ।
नेपाली दूतावास र त्यहाँस्थित नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि प्रधानमन्त्री दाहाल सहभागी हुनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
४ दिनको भ्रमण सम्पन्न गरेर प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्कनेछन्।
प्रधानमन्त्री दाहालसँग परराष्ट्र मन्त्रालयका अधिकारी सो सम्मेलनमा सहभागी हुनेछन्।