नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले संगीतकार अम्बर गुरुङको ८५ औँ जन्मजयन्ती मनाएको छ । फागुन १४ गते आइतबार प्रतिष्ठानको सभाहलमा प्रतिष्ठानको संस्थापक कुलपति एवम् राष्ट्रगानका रचनाकार समेत रहेका वरिष्ठ संगीतज्ञ गुरुङको तस्बिरमा माल्यार्पण गर्दै उनको योगदानबारे परिचर्चा गर्दै जन्मजयन्ती मनाइएको हो ।
संगितज्ञ गुरुङबारे नेपाल प्रज्ञा–प्रतिष्ठानका नवनियुक्त कुलपति भूपाल राई, नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेल, उपकुलपति शम्भू राई लगायतले चर्चा गरेका थिए ।
कुलपति राईले गीत, संगित र गायनका त्रिवेणी अम्बर गुरुङ नेपाली आधुनिक संगितका एक महारथी भएको चर्चा गरे । समकालीन नेपाली संगितमा स्थापित प्रायः संगितकर्मी गुरुङबाटै दीक्षित रहेको उनले चर्चा गरे । कुलपति राईले आगामी दिनमा नेपाल प्रज्ञा–प्रतिष्ठानले समेत उनको जन्मजयन्ती भव्य रुपमा मनाउने प्रतिवद्धता जनाए ।
नेपाल संगित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति निशा शर्मा पोखरेलले अहिलेका नयाँ पुस्ताले पनि उत्तिकै रुचाएका अम्बर गुरुङ कहिल्यै नअस्ताउने तारा भएको बताइन् । विगतका वर्षदेखि मनाउँदै आएको अम्बर गुरुङ जन्मजयन्ती मनाउने परम्परालाई प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाए ।
त्यसैगरी उपकुलपति शम्भू राईले अम्बर गुरुङ पूर्वीय र पाश्चात्य संगितको एक सिद्धहस्त साधक भएको चर्चा गर्दै नेपाली संगितमा पहिलो पटक पाश्चात्य संगित ‘क्वायर’को प्रयोग गरेको बताए । कार्यक्रममा अम्बर गुरुङको दुई वटा सिर्जना प्रस्तुत गरिएको थियो ।