
बागलुङको ढोरपाटन नगरपालिकाले पशुपालक कृषकलाई उन्नत जातको बाख्रा तथा बोका वितरण गरेको छ । नगरपालिकालाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले अघिल्ला वर्षहरुदेखि कृषकलाई अनुदानमा बाख्रा वितरण गर्दैआएको छ ।
चालुक आर्थिक वर्ष संघीय सरकारको ससर्त अनुदान बजेटबाट यहाँका २० कृषकलाई उन्नत जातका बोका तथा बाख्रा वितरण गरेको ढोरपाटन नगरपालिकाका पशु शाखा प्रमुख तेजमाया खड्काले जानकारी दिइन् । नगरपालिकाले अनुदानमा बोका तथा बाख्रा वितरणका लागि सूचना आह्वान गरेको निवेदन पेस गरेका कृषकलाई छनोट गरी वितरण गरिएको उनको भनाइ छ ।
नगरपालिकाको ७५ प्रतिशत अनुदानमा कृषकलाई बाख्रा वितरण गरिएको उनले बताए । २३ जनाको निवेदन आएकोमा १५ जनाले बाख्रा तथा बोका पाएका छन् । जमुना पारी जातको छ बाख्रा, तीन बोका, बोयर जातका छ बोका र नौ बाख्रा कृषकलाई वितरण गरेको उनले बताए ।
प्रमुख खड्काका अनुसार यहाँका कृषकलाई नगरपालिकाले अघिल्लो वर्ष पनि अनुदानमा बाख्रा वितरण गरेको थियो, यो सँगै कृषकलाई खोप, तालिम तथा परामर्श पनि दिइएको छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले कृषकको जीवनस्तर उकास्नका लागि आधुनिक प्रविधिसँग जोड्न थालेको बताए । कायतले स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरणका लागि पश्चिम बागलुङका स्थानीय तह एकजुट हुनुपर्नेमा जोड दिए । आयातित कृषिउपज वस्तुका कारण स्थानीय उत्पादनले बजार पाउन नसकेको उनको भनाइ छ । रासस