०५ साउन २०८३, मंगलबार

आगामी वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं- मन्त्री गिरी

फागुन १५, २०७९
आगामी वर्षसम्म ५ लाखको स्वास्थ्य बीमा लागू गर्छौं- मन्त्री गिरी

स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य क्षेत्रमा इतिहासमै पहिलो पटक युगान्तकारी परिवर्तन गर्नेगरी काम शुरु गरेको बताएका छन्। 

सोमवार स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू स्वास्थ्य क्षेत्रको परिवर्तन गर्नकै लागि रोजेर स्वास्थ्य मन्त्रालयमा आएको पनि बताए।

स्वास्थ्यमा भएका फोहोरलाई सफा गर्न आफू आएको उनको भनाइ थियो। 

​स्वास्थ्य मन्त्रालय आकर्षणको मन्त्रालय भए पनि स्वच्छ मन लिएर मन्त्रालयको नेतृत्व लिने मन्त्रीहरू फर्किंदा दाग बोकेर फर्किने गरेको भन्दै स्वास्थ्य क्षेत्रको वास्तविक परिवर्तनका लागि आफू आएको उनले बताए।

उनले आफ्नो नाममा कसैले ब्ल्याकमेलिङ गरेर अन्य धन्दा गरेको भए सूचना दिन र त्यसलाई आफूले तत्काल कारबाही गर्ने बताए। 

मन्त्री गिरीले आगामी आर्थिक वर्षसम्ममा कम्तीमा ५ लाख सम्मको स्वास्थ्य बीमा गर्ने तयारीअनुसार काम भइरहेको बताए।

अहिलेको स्वास्थ्य बीमाभित्र देशभरका मानिसहरू समेटिन नसक्ने भन्दै सेना, प्रहरी, सबै आम मानिस आउनेगरी स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको जानकारी दिए।

उनले जस्तोसुकै दीर्घरोगीहरूको निःशुल्क उपचार गर्नेगरी स्वास्थ्य पूर्वाधार निर्माण हुन जरुरी रहेको पनि बताए।

उत्कृष्ट स्वास्थ्य बीमा कार्यक्रम लागू गर्न लागेको भन्दै बीमा गराउनेहरू घरदैलो गरेर हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने उनले दाबी गरे। 

मन्त्री गिरीले स्वास्थ्य सेवा ऐन छिट्टै ल्याउन आवश्यक सहयोग मन्त्रालयले गर्ने प्रतिबद्धता जनाए। स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको वृत्ति विकासका लागि स्वास्थ्यका सबै राजमार्ग खुला हुनुपर्ने उनको भनाइ थियो। 

प्रदेशमा डायलसिस सेवाका लागि प्रतीक्षा गर्नुपर्ने अवस्थाको अन्त्य गरिने पनि उनले विश्वास दिलाए। मन्त्री गिरीले अबको तीन महिनाभित्र नै सातै प्रदेशमा डायलासिस सेवाका लागि सहज बनाउन पूर्वाधार बनाइसक्ने प्रतिबद्धता जनाए। 

मन्त्री गिरीले अस्पतालका सबै सेवाहरू डिजिटलाइट प्रणालीमा लैजाने दाबी गरे।

स्वास्थ्य सेवा दिवसको अवसरमा मन्त्रालयले ५ जना स्वास्थ्य सेवामा कार्यरत कर्मचारीहरूलाई सम्मान गरेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्