
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनमा बनेको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहितको गठबन्धन चुनावसम्मै जाने दाबी गरेका छन् ।
उनले आलोपालो प्रधानमन्त्री बन्नेबारे कुनै सहमति नभएको बताए ।
सुर्खेतको वीरेन्द्रनगरमा सोमवार पत्रकारहरूसँग कुरा गर्दै नेता नेपालले आलोपालो प्रधानमन्त्रीबारे कुनै सहमति नभएको बताए । ‘पत्रपत्रिकामा के आउँछ, कसको पालो आउने नआउने कुरा । अनुमानका कुरा आउन दिनुस्,’ आलोपालो प्रधानमन्त्रीबारे सोधिएको प्रश्नमा नेता नेपालले भने ।
राष्ट्रपतिमा उम्मेदवार बन्ने चर्चा गरिएका नेपाल प्रचण्डपछि प्रधानमन्त्री बन्ने सहमति भएको नेताहरूले बताउँदै आएका थिए तर नेता नेपालले भने त्यो स्वीकार गरेनन् ।
नेता नेपालले अहिलेको गठबन्धन चुनावसम्म जाने दाबी गरे । ‘२०७७ पुस ५ गते प्रतिनिधिसभा विघटनपछि बनाइएको गठबन्धन पनि टिक्दैन भनिएको थियो । आँट गर्नेले राजनीतिक कोर्स चेन्ज गर्दियौं । आँट भएका, दृष्टिकोण र आत्मविश्वास भएका मान्छे भएकाले अहिलेको गठबन्धन टिक्छ र चुनावसम्म लैजान्छ,’ नेपालले भने ।
नेता नेपालले आफूहरूलाई वेवास्ता गरेर मुलुक चलाउन नसक्ने बताए ।