
चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीच औपचारिक रुपमै सम्बन्धविच्छेद भएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीहरुबीचको तीन वर्ष पुरानो सम्बन्धविच्छेदको मुद्दा टुंगो लगाएको हो ।
आइतबार (हिजो) न्यायाधीश शंकरबहादुर राईको एकल इजलासले फैसला गरेको हो ।
योसँगै शिल्पाले छविको आधा सम्पत्ति पाउने भएकी छन् । अंशवण्डा नभएसम्म मानाचामल भर्न समेत ओझालाई आदेश दिएको छ ।
अदालतले हिजो नै छविको जेठी श्रीमती हेमा ओझाले दायर गरेको बहुविवाहको मुद्दामा दाबी नपुग्ने फैसला गरेको छ ।
अदालतको फैसलासँगै आफूले न्याय पाएको महसुस गरेको शिल्पाले बताएकी छिन् ।
उनले सोमवार फेसबुकमा लेखेकी छिन् – ‘हिजो सम्मानित काठमाडौं जिल्ला अदालतबाट छवि ओझा विरुद्धको मेरो मुद्दामा मलाई जिताउने सम्पूर्ण निर्णयले मैले सम्मानित अदालतबाट न्याय पाएको महसुस गरेको छु ।’ उनले बठिन समयमा आफूलाई बलियो साथ दिने सबैलाई धन्यवाद समेत दिएकी छिन् । ‘यस कठिन समयमा मलाई बलियो साथ दिने सबै परिवारजन, आमा, बुवा, दाइ, भाउजू, साथीहरू, संघसंस्था तथा विशेष सहयोगको लागि वरिष्ठ अधिवक्ता रमेश गुरागाईंज्यू र अधिवक्ता मनोज यादवज्यूलाई कृतज्ञता तथा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु’ – उनले भनेकी छिन् ।
छवि नेपाली चलचित्रका पुराना एक सफल निर्माता हुन् भने शिल्पा नेपालीसँगै भोजपुरी चलचित्रमा समेत अभिनय गरेकी अभिनेत्री हुन् । पछिल्ला वर्ष भने छविराजले चलचित्र निर्माण गरेका छैनन् भने शिल्पा पनि नेपाली चलचित्रमा देखिएकी छैनिन् ।
उनी म्युजिक भिडियोमा भने काम गरिरहेकी छिन् ।