
भारतको दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियालाई मदिरा नीतिसम्बन्धी भ्रष्टाचारको आरोपमा सीबीआईको हिरासतमा राखिएको छ ।
सिसोदिया दिल्ली सरकारमा मुख्यमन्त्री अरविन्द केजरीवालपछि दोस्रो नम्बरमा छन् । त्यसका साथै आम आदमी पार्टीमा पनि उनी केजरीवालपछिकै सबभन्दा ठूला नेता हुन् ।
उनी पक्राउ परेपछि दिल्ली सरकार र केजरीवाल समस्यामा परेका छन् किनकि उनको विकल्प नै उपलब्ध छैन ।
सिसोदियासँग दिल्ली सरकारका ३३ मध्ये १८ विभाग छन् । उनी पक्राउ परेपछि उनको काम सम्हाल्ने मान्छे नै छैन ।
केजरीवालका अर्का मन्त्री सत्येन्द्र जैन पहिलेदेखि नै जेलमा छन् । जेनले सम्हालेका विभाग पनि सिसोदियाले हेरिरहेका थिए । उनी दिनमै १५ वटासम्म बैठक गरिरहेका हुन्थे ।
सन् २०२० पछि मुख्यमन्त्री केजरीवालले आफ्ना विभाग पनि हेर्न छोडेका थिए । सिसोदियाले ती विभागमा पनि सुपरिवेक्षण गर्ने गरेका थिए ।
उता आपमा सिसोदियाको कदको नेता र केजरीवालको विश्वास जितेको व्यक्ति कोही पनि छैन ।
दिल्ली सरकार आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको थियो । बजेटको सबै काम सिसोदियाले नै हेरिरहेका थिए । सिसोदिया जेल गएपछि अब बजेटको तयारीमा पनि असर पर्नेछ ।
आम आदमी पार्टीलाई सबभन्दा बढी समर्थन हिन्दीभाषी क्षेत्रबाट ने प्राप्त भइरहेको थियो । पार्टीले अपनाएको काम गर्ने शैलीबाट पनि त्यही क्षेत्रका भोटरको विश्वास जितिरहेको थियो । त्यस क्षेत्रमा आम आदमी पार्टीको सबभन्दा ठूलो लडाइँ भाजपासँग नै छ ।
आगामी केही महिनामा मध्य प्रदेश, राजस्थान र छत्तीसगढ जस्ता राज्यमा चुनाव हुँदैछ । आम आदमी पार्टीले अघिल्लो चुनावमा पनि ती राज्यमा क्याडर बनाइसकेको थियो ।
पञ्जाबमा विजय पाएपछि पार्टीले ती राज्यहरूमा पनि गम्भीरतापूर्वक चुनाव लड्ने मन बनाइसकेको थियो । त्यसमा सिसोदियाको भूमिका सर्वोपरि थियो ।
सिसोदिया पक्राउ परेपछि दुईवटा स्थिति बन्न सक्छ । पहिलो, जनतामाझ सिसोदिया र आम आदमी पार्टीको भ्रष्टाचारको छवि निर्माण हुन सक्छ । दोस्रो, केन्द्र सरकारले आपलाई रोक्नका लागि सिसोदियालाई पक्राउ गराएको सन्देश मानिसहरूमा जान सक्छ ।
आम आदमी पार्टीले दोस्रो स्थितिका लागि आफूलाई तयार पार्दै आगामी चुनावमा प्रतिस्पर्धा गर्ने सोच बनाइरहेको थियो । जनतामाझ पुग्नेदेखि सामाजिक सञ्जालमा रीच बढाउनेसम्मका रणनीति पार्टीले बनाइसकेको थियो ।
सिसोदियाको पक्राउपछि ती सबै रणनीतिमा ठूलो धक्का लागेको छ ।