२३ असार २०८३, मंगलबार
सरकारमा २ दल मात्र

प्रचण्ड सरकारमा २ दल मात्र बाँकी, ७ जनामा खुम्चियो मन्त्रिपरिषद्

फागुन १५, २०७९
प्रचण्ड सरकारमा २ दल मात्र बाँकी, ७ जनामा खुम्चियो मन्त्रिपरिषद्

नेकपा एमाले, राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा दुई दल मात्र बाँकी रहेका छन् ।

माघ ३ गते बनेको २५ सदस्यीय मन्त्रिपरिषद् अब ७ जनामा सीमित भएको हो । 

पुस ११ गते गठन भएको सरकारलाई प्रचण्डले माघ ३ गते पूर्णता दिएका थिए ।

नागरिकता विवादमा सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरीदिएपछि गृह मन्त्रालय लामो समयदेखि खाली छ ।

त्यसको केही दिनपछि माघ २३ गते रास्वपाका मन्त्रीहरूले राजीनामा दिएका थिए । पुस १० गते बालुवाटारमा भएको सहमतिविपरीत माओवादीले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेपछि फागुन १३ गते राप्रपाले सरकार छाडेको थियो ।

त्यसको दुई दिनपछि फागुन १५ मा सरकारमा सहभागी सबभन्दा ठूलो दल नेकपा एमाले बाहिरिएको हो। हाल मन्त्रिपरिषद् ७ सदस्यीय बन्न पुगेको छ । अब सरकारमा माओवादीका ६ र जनमत पार्टीका एक मन्त्री मात्र बाँकी छन् ।

माओवादीको तर्फबाट प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार मन्त्री रेखा शर्मा, संस्कृति पर्यटन मन्त्री सुदन किराती, सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र पर्यटन राज्यमन्त्री सुशीला श्रीपाली मन्त्री छन्। माओवादी बाहेक सरकारमा जनमत पार्टीका अब्दुल खान सहभागी छन् । 

एमाले सरकारबाट बाहिरिएपछि मन्त्रिपरिषद्को बैठक राख्न नै समस्या परेको छ ।

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा नयाँ बनेको गठबन्धन दलसँग परामर्श गर्ने भएका छन् ।

एमाले सरकारबाट बाहिरिसकेकाले राष्ट्रपति चुनाव अगाडि नै कांग्रेस, जसपा र नेकपा एसलाई सरकारमा सहभागी गराउने तयारी शुरु भएको माओवादीका एक पदाधिकारीले लोकान्तरलाई जानकारी दिए । 

एमालेसहितको समर्थनमा पुस १० गते प्रचण्ड प्रधानमन्त्री बनेका थिए । पुस ११ मा उनले एमाले र रास्वपालाई लिएर सरकार गठन गरेका थिए ।

पुस २६ गते प्रधानमन्त्रीलाई कांग्रेसले विश्वासको मत दिएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्