
निःवर्तमान महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले आफूले मन्त्रालयको नीतिगत सुधारका कामलाई प्राथमिकता दिएर काम गरेको बताएकी छन्।
सोमवार मन्त्री पदबाट राजीनामा दिएसँगै मन्त्रालयमा पत्रकारहरूसँग भेटघाट गर्दै निःवर्तमान मन्त्री चौधरीले आफूले जिम्मेवारी सम्हालेदेखि नै विभिन्न नीतिगत सुधारका काम अघि बढाएको बताइन्।
राष्ट्रिय ज्येष्ठ नागरिक नीति २०७९ को मस्यौदा तयार गरेको र त्यसबाट ज्येष्ठ नागरिकहरू धेरै नै लाभान्वित हुने बताइन्।
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ताबापत पाउनुपर्ने रकम बैंकहरूले सम्बन्धित व्यक्तिकै हातमा पुर्याउनुपर्ने व्यवस्था गरिएको उनले उल्लेख गरिन्।
त्यस्तै अपांगता भएको व्यक्ति सम्बन्धी नीति तयार भएको, राष्ट्रिय बालबालिका नीतिको मस्यौदा तयार भएको, बालकालिकासम्बन्धी ऐन २०७५, बालबालिका सम्बन्धी नियमावली २०७८ लाई स्वीकृति गरिएको पनि उनले बताइन्।
उनले आफ्नो पार्टी नेकपा(एमाले)ले गरेको निर्णयअनुसार मन्त्री पदबाट राजीनामा दिएको पनि बताइन्।
निवर्तमान मन्त्री चौधरीले सरकार अस्थिर बन्दा देश र जनताले दुःख पाउने अवस्था रहेको उनको भनाइ थियो।