
बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो नियन्त्रणको काम शुरु भएको छ । गतवर्ष भदौ ११ गते चुरेडाँडाबाट आएको पहिरोले क्षति गरेको बुटवल वडा नम्बर ३ को मिलनपथ र ज्योतिनगर तथा वडा नम्बर ४ को लक्ष्मीनगरको प्रभावित क्षेत्रमा चेकड्याम, रिटर्निङ्ग वाल, ग्याबिन जाली, बक्स कल्भर्ट निर्माणको काम शुरु भएको हो ।
पहिरो प्रभावित क्षेत्रको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेय, उपप्रमुख सावित्रादेवी अर्याल, वडा ३ का अध्यक्ष विष्णु ढकाल, स्थानीय बासिन्दासहितको टोलीले अवलोकन गरी निर्माणलाई तीब्रता दिने र थप सुरक्षाका उपायका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्नेभएको हो । प्रभावित क्षेत्रको अवलोकनपछि बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पहिरोबाट बस्ती जोगाउन सबै प्रयास गरिने बताए ।
अहिले ज्योतिनगर र मिलनपथ क्षेत्रमा पहिरोले थुपारेको डुंगामाटो हटाउने र नाली बनाएर सम्भावित बाढी तर्काउने काम जारी रहेको बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्याले बताइन ।
पहिरो नियन्त्रणका लागि चालु आर्थिक वर्षमा बुटवल उपमहानगरपालिका र संघीय सरकारको अनुदानअन्तर्गत ४ करोड ५० लाख र विपद प्राधिकरणमार्फत् ४५ लाखमा चेकड्याम, रिटर्निङ्ग वाल, बक्स कल्भर्टलगायतका जोखिम न्यूनीकरण गर्नेगरी काम भइरहेको शहरी पूर्वाधार महाशाखाका अधिकृत गोविन्द पंगेनीले बताए । गतवर्षको पहिरोले १५ घरमा पूर्ण क्षति गरेको थियो । ३० घरमा आंशिक क्षति भएको थियो । १२ घरमा लेदो छिरेर सामान्य क्षति पुगेको थियो ।