
सडक निर्माणको काम अलपत्र पारेपछि बुटवल उप-महानगरपालिकाको वडा नं. ११ को वडा कार्यालयमा स्थानीयले ताला लगाइदिएका छन्।
रंगशालादेखि एमाले चोकसम्मको करिव डेढ किलोमिटर सडक करिव ४ वर्ष पहिला निर्माण शुरू भए पनि अलपत्र छ ।
सडक अलपत्र हुँदा धुलो धुँवाले ४ वर्षदेखि आजित हुनुपरेको भन्दै बाध्य भएर तालाबन्दीमा उत्रिन परेको स्थायी हरिप्रसाद कँडेलले बताए ।
स्थानीय सरकार र सडक डिभिजन कार्यालयबीच तालमेलविना निर्माण थालिएको यो सडकमा खाल्डाखुल्डी, ढल र प्रदूषणले स्थानीय तथा सवारी चालकले सास्ती खेप्दै आएका छन् ।
बुटवल उपमहानगरपालिकाका प्रमुख कार्याकारी अधिकृत टेकराज पन्थीले एमाले चोकदेखि नगरको सीमासम्म सडक ७ करोडको ठेक्का सडक डिभिजनले लगाएको र काम अलपत्र पारेको जानकारी दिए ।
उक्त सडक निर्माणका लागि भन्दै उपमहानगरसँग ७ करोडको समपूरक बजेट भए पनि सडक डिभिजनले ठेक्का नतोड्दा सडक निर्माणको काम शुरू गर्न नसकिएको उनले बताए ।
वडा नंं. ११ बुटवलकै सबैभन्दा ठूलो वडा हो ।