
नेकपा (एमाले) की नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले हिजो निर्वाचन पनि एमाले एक्लै लडेकाले देशलाई एक्लै समृद्ध बनाउने हैसियत राख्ने बताएकी छन् । मंगलबार यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा उनले त्यस्तो बताइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बोली र व्यवहारमा फरक अनुभूति भएको भन्दै उनले देश र जनताको पक्षमा सबै जिम्मेवार बन्नुपर्ने बताइन् । ‘प्रचण्ड उहाँको आफ्नो व्यवहारले धोकेबाज देखिनुभएको छ । अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन् । हामी हिजोपनि एक्लै चुनाव लडेको हो । देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ’ उनले भनिन् ।
सोमबार मात्रै मन्त्री पदबाट राजीनामा दिएकी साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर गल्ती गरेको बताइन् । उनले भनिन्–‘अब त उहाँको बुद्धि पलाउला भनेको त, प्रचण्डमा त्यस्तो देखिएन । शहीदका सपना पूरा होलान् भनेको त उहाँ व्यक्तिगत स्वार्थमा लाग्नुभयो ।’
आफूहरु जनताको सेवकको भूमिका निर्वाह गर्ने उनले बताइन् । प्रतिपक्षमा बसेर रचनात्मक भूमिका खेल्ने उनले प्रतिवद्धता जनाइन् । एमालेले राष्ट्रपतिमा अघि सारेको सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित् रहेको पनि उनले दाबी गरिन् ।
उनले भनिन्, ‘उहाँको व्यक्तित्व र क्षमताको हिसाबले, बोली, व्यवहार अनि वचन राम्रो छ । राष्ट्रपतिको भूमिकामा उहाँ सफल हुनुहुनेछ । हामी उहाँलाई सफल बनाउने प्रक्रियामा लागेका छौं । उहाँको जित सुनिश्चित् छ ।’
छोटो अवधिमा आफू मन्त्रीको जिम्मेवारीमा रहँदा राम्रो काम गरेको उनले दावी गरिन् । उनले उखुको भाउ प्रतिक्विन्टल २० रुपैयाँको दरले बृद्धि गरेको सुनाइन् । आफूले जनतालाई केन्द्रमा राखेर निर्णय लिएको उनको दाबी छ ।