
पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसदले दोस्रो कार्यकालमा भने नाम पाउने सम्भवना बढेको छ । नामकरणको विषयमा आलोचना खेप्दै आएको प्रदेशसभाको आजको बैठकमा नामकरणको विषयले प्रबेश पाउने सांसदहरु बताउँछन् ।
नेकपा (एमाले) कांग्रेस र राप्रपाले प्रदेश १ को नाम ‘कोशी’ राख्ने प्रस्तावसहित आजको प्रदेशसभा बैठकमा प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । माओवादी केन्द्र जसपा र एकीकृत समाजवादीले लगायतका दलका सांसदले अर्कै नाम पेश गर्ने तयारी गरेको दलका एक सांसदले बताए ।
प्रदेशको नामकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्छ । प्रदेश १ मा ९३ जनाको प्रदेश संसद छ । जसमध्ये नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ । प्रदेश १ प्रदेशसभामा नेकपा (एमाले) का ४०, नेपाली कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एसका ४ र जसपाको १ जना सांसद छन् । कांग्रेस र एमाले तथा राप्रपाले सांसदको सख्या जोड्दा दुइतिहाई सजिलै पुग्छ ।
प्रदेश १ को नाम बहुपहिचान, भूगोल वा पहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच अझै सहमित भएको छैन । तर मुख्यमन्त्री कार्कीले कांग्रेसलाई समेत आफनो पक्षमा लिएपछि कोशी नाम आउने सम्भवना बढेको नेताहरु बताउँछन ।
अघिल्लो प्रदेशसभामा एमालेका सभामुखसहित ३९, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीको १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १÷१ जना सांसद गरी ९० जना सांसद थिए । यसअघिको प्रदेशसभामा पनि नामकरणको विषय पेचिलो बनेपछि थाँती रहेको थियो । प्रदेशसभाको बैठक बस्नुअघि कार्यब्यबस्था परामर्श समितिको बैठक बस्दैछ ।