
रूपन्देहीको कञ्चन गाउँपालिका–४ हरैयाकी कल्पना थापालाई अहिले रातिमा निद्रा र दिनमा भोक छैन । गरीबी निवारणको रूपमा हेरिएको सिभिल लघुवित्तबाट कोरोना महामारी शुरू हुनुभन्दा अगाडि थापाले ल्याएको १ लाख ऋणले उनलाई अहिले मर्नु न बाँच्नु बनाएको छ ।
उनले ३ वर्षअघि बाख्रा र कुखुरापालन भनेर लघुवित्तबाट ऋण लिई पटक–पटक गरेर १ लाख रुपैयाँ व्याज बुझाइन् तर अहिले १ लाख ४० हजार व्याज पनि खप्टाएर लघुवित्तले उनको कर्जा बढाइदिएको छ ।
‘अझै ऋण नतिर्ने भनेर हप्ताहप्तामा लघुवित्तका मान्छे आएर धम्काउँछन्,’ कल्पना भन्छिन्, ‘अबको केही समयमा पनि ऋण र व्याज नतिरे कालोसूचीमा पारिदिन्छु, कालोसूचीमा परेपछि तिमीहरूको बिजुलीको लाइन, खानेपानी र तिम्रा छोराछोरी र श्रीमान् पनि विदेश जान पाउँदैनन् भनेर धम्काउँछन् । म त मर्नु न बाँच्नु जस्तै भएकी छु ।’
सहकारीले उनलाई आवश्यक नै नभएको ऋण खाएर ‘उद्यमी बन’ भन्दै पैसा उपलब्ध गराएका थिए । उनले खेतीपाती र कुखुरा पालेर जिन्दगी चलाएकी थिइन् । परिवारमा आर्थिक अभाव पनि थिएन । ‘धेरै–थोरै ऋण खानुपर्छ भनेर पैसा दियो,’ कल्पनाले गहभरी आँशु ल्याउँदै भनिन्, ‘अहिले गर्दा–गर्दा २ लाखभन्दा बढी पुर्याउन थाल्यो । किस्ता र व्याज जति तिरे पनि घट्दैन । यस्तै सबैलाई भएपछि गाउँका अन्य त ऋण तिर्न नसकेर भारत पसेका छन् ।’
गरीबी र अभावकै कारण हरैयाकै शर्मिला थापाले पनि निर्धन, ग्रामीण विकास र जनउत्थान लघुवित्तबाट ऋण लिइन् । अहिले उनलाई ३ वटै लघुवित्तमा आफ्नो कति ऋण छ भन्ने हेक्का समेत छैन । उनीसँग हरेक हप्ता लघुवित्तका मान्छेहरू ऋण तिर्ने होइन भन्दै आउँछन् । ‘व्याज कति भएको छ भन्दा भन्दैनन् । १ दिन त घरभित्र आएर पैसा कहाँ राखेकी छौ भनेर दराज खोली भताभुंग समेत पारे,’ उनी भन्छिन्, ‘पैसा चुक्ता गर्छु । कति भएको छ भन्दा समेत भन्दैनन् । पैसा मात्र माग्छन्,’ उनले भनिन् ।
दीर्घरोगी उनले ११ वर्षदेखि नियमित औषधि सेवन गर्दै आएकी छन् । पतिको कमाइ पनि खासै थिएन । गाउँमा समूह बनाउँदै हिँड्ने लघुवित्तमा जोडिएपछि उनले आफ्ना विपत्तिका दिन शुरू भएको बताइन् । लघुवित्तको ऋणले अहिले गाउँमा धेरै मान्छेहरू भागेर हिँडेका छन् । उनलाई कालोसूचीमा पारिदिन्छु भन्छन् । अहिले उनलाई उनलाई एउटै डर छ । ‘लघुवित्तका मान्छेहरू आउँछन्, बूढो विदेश जान पाउँदैन भन्छन् । छोराछोरीको नागरिकता बन्दैन भन्छन्,’ उनले भनिन् ।
३ वटा लघुवित्तबाट लिएको २ लाख २० हजार ऋण अहिले ५ लाखभन्दा बढी पुगेको छ । किस्ता र व्याज जति हुन्छ, लघुवित्तका मान्छे आउँदा दिएकै हुन्छिन् । ‘मेरो त उठिबास लाग्न मात्र बाँकी छ । कस्तोमा फसेछु ? अहिले आएर बल्ल बुझें, मर्नु कि बौलाउनु भइयो,’ उनले भनिन् । आफूले ऋण लिएका संस्थामा चरम बेथिति हुँदा समेत सम्बन्धित निकायले आफूहरूको पक्षमा केही आवाज नसुनिएको शर्मिलाको दुखेसो छ ।
स्थानीय गाउँकै कविता परियार लघुवित्तको किस्ता तिर्न भोगेको पीडा पनि दर्दनाक छ । ग्रामीण विकास लघुवित्तबाट १ वर्ष अगाडि कविताले लिएको १ लाख ५० हजार ऋण अहिले २ लाख ५० हजार पुगेको छ । वैदेशिक रोजगारीमा भएका उनका पतिलाई समेत फोन गरेर समेत अहिले थर्काउन थालेका छन् ।
‘पैसा तिर्ने होइन भनेर घरमै आएर थर्काउँछन्,’ परियार भन्छिन्, ‘के गर्ने सहनुको विकल्प भएन । हामी जस्ता दैनिक काम गरेर खानेलाई गरिखान पनि लघुवित्तले नदिने भए ।’
केही समयअघि बुटवलमा लघुवित्तको व्याज शुल्क घटाउन र कठिनमा परेका समूहका सदस्यलाई सरल किसिमले किस्ता बुझाउने वातावरण बनाउन माग गर्दै प्रदर्शन समेत भएको थियो । लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिको आयोजनामा विभिन्न संस्थाका सदस्यहरू भेला भई लघुवित्तका कारण उठिबासको स्थिति आएको भन्दै स्थानीयले जनआन्दोलन चोकमा प्रदर्शन गरेका थिए ।
‘ऋण रकम नतिर्ने भनेको हैन, लिएपछि तिर्नुपर्छ तर समस्या भएको समयमा सहज किसिमले तिर्ने वातावरण हुनुपर्छ । लघुवित्तकै कारण कसैको उठिबास लाग्ने र ज्यान नै माया मार्ने स्थिति आयो,’ उनले भनिन् ।
कवितासँग ऋण लिएका त्यहीँ गाउकै माधुरी राना, सीता परियार, लक्ष्मी परिवार ऋण तिर्ने उपाय नभएपछि घरमा तालाचाबी ठोकेर भारत पसिसकेका छन् । अहिले रूपन्देहीको लघुवित्तबाट धेरै पीडितहरू यहीँ गाउँका छन् ।
‘हामीले गलत गरेका छैनौं’
लघुवित्त सञ्चालक संघ नेपालका केन्द्रीय अध्यक्ष जगतबहादुर पोखरेलले आफूहरू ऋण लगानी गर्दा नेपाल राष्ट्र बैंकको गाइडलाइनभन्दा बाहिर नगएको दाबी गर्छन् । ‘कसैलाई जबरजस्ती ऋण दिइँदैन,’ पोखरेल भन्छन्, ‘हाम्रा माइक्रो फाइनान्सहरूले गलत गरेको भए राष्ट्र बैंकले कारवाही गर्छ । कारवाही भोग्न तयार छौं । हामीलाई राष्ट्र बैंकले अहिलेसम्म गलत भयो भनेको सुन्नुभएको छ ?’
पोखरेलले थप्छन्, ‘एउटै व्यक्तिले धेरै लघुवित्तबाट ऋण लिएका छन् । जुन उद्देश्यका लागि ऋण लिएका हुन्, त्यो उद्देश्यमा प्रयोग नभएको देखियो । त्यसको मोनिटरिङ लघुवित्तका व्यवस्थापकबाट नभएको चाहिँ हो ।’
लघुवित्तले अहिले १५ प्रतिशत व्याज र १.५ प्रतिशत सेवा शुल्कभन्दा बढी नलिएको पोखरेलको दाबी छ ।
एकै व्यक्तिलाई धेरै लघुवित्तले कर्जा प्रवाह गर्दा समस्या
आर्थिक क्षेत्रका जानकार तथा पूर्व लघुवित्त वित्तीय संस्थाका सञ्चालक मनिकर कार्कीले लघुवित्त संस्थाले एकै व्यक्तिलाई दोहोरो/तेहोरा समूहमा जोडदा अहिलेको समस्या उल्झिएको बताउँछन् । ‘एकै व्यक्तिलाई व्यवसाय विस्तारको नाममा धेरै लघुवित्त वित्तीय संस्थाले कर्जा दिए,’ कार्की भन्छन्, ‘सरकारले सानो कृषि कर्जा र व्याज मिनाहा गर्छ भन्ने अफबाह राजनीतिक लोकप्रियताका नाममा नेताहरूले फैलाउँदा पनि अहिलेको समस्या आएको हो । त्यसका साथ अस्वस्थ प्रतिस्पर्धाले गर्दा ‘मल्टिपल’ लेनदेन गरेर ऋणहरूले कर्जाको उपयोग पनि गरेनन् र अहिलेको समस्या देखिएको हो ।’
कार्की थप्छिन्, ‘नेपालमा आवश्यकभन्दा धेरै लघुवित्त भए । छोटो समयमा मुनाफा गर्ने संस्थाका रूपमा लघुवित्तलाई लिइदाको परिणाम पनि अहिलेको समस्या लिन सकिन्छ ।’
देशमा लघुवित्त र पूँजी कति ?
नेपालमा अहिले ६४ वटा लघुवित्त संस्था छन्, जसका ४ हजार ८०० शाखा कार्यालय छन् । ती शाखामा २३ हजार कर्मचारी कार्यरत छन्, लघुवित्तको ४ खर्ब पुँजी छ ।
लघुवित्तको कर्जामा कडाइ
नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीको कर्जा प्रवाहमा कडाइ गरेको छ । अब कुनै बैंकबाट कर्जा लिइसकेका ऋणीले लघुवित्त कम्पनीबाट ऋण पाउने छैनन् । एकभन्दा बढी लघुवित्त कम्पनीबाट पनि ऋण लिन नपाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।
नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको ‘एकीकृत निर्देशन २०७८’ मा संशोधन गर्दै राष्ट्र बैंकले बिहीवारदेखि यस्तो व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
‘विना धितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एउटा ऋणीलाई एउटा मात्र वित्तीय संस्थाले यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी प्रवाह गर्नुपर्नेछ । वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीबाट कर्जा लिएका ऋणी लघुवित्त वित्तीय संस्थाबाट कर्जा लिन योग्य हुने छैनन्,’ राष्ट्र बैंकको निर्देशनमा भनिएको छ ।