
प्रदेश १ को नाम 'कोशी' राख्ने प्रस्तावका प्रस्तावक नेकपा एमालेका सांसद रामबहादुर मगरको भनाइ रेकर्डबाट हटाउन सभामुख बाबुराम गौतमले निर्देशन दिएका छन्।
छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा सांसद मगरले सांसद जनतालाई ढाँटेर आएको बताएपछि सांसदले नियमापत्ति गरेका थिए ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईले नियमापत्ति गर्दै रेकर्डबाट हटाउन माग गरेका थिए ।
नेकपा एकीकृत समाजावदीका कमल जबेगुले 'कोशी' नाम राख्ने प्रस्तावमा जनजाति सांसदलाई अघि सारेको भनेपछि जवाफ दिने क्रममा प्रदेशशभामा आउने सांसद सोझाजस्तो नलागेको र जनतालाई प्रशस्तै ढाँटछल गरेर र अरू केके गएर चुनाव जितेर आएको मगरले बताएका थिए ।
उनको भनाइप्रति नियमापत्ति जनाउँदै सांसद राईले ‘चुनावी दौरानमा हामी सबैले ढाँटेर र छलेर आएका हौं त’ भन्ने वाक्या रेकर्डबाट हटाउन सभामुखसँग माग गरेका थिए ।
राईको मागअनुसार सभामुख बाबुराम गौतमले ती विषय रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।