
नेपालले आईसीसी यू १९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गतको अन्तिम खेलमा आज बिहिबार यूएईसँग भिड्दै छ । सुरुआती चार खेलमा अपराजित दुवै टोलीबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे अजमानस्थित इर्डेन गार्डेन ओभलमा सुरु हुँदैछ । समान अंक रहे पनि यूएई नेटरनरेटको कारण शीर्ष र नेपाल दोस्रो स्थानमा छ ।
नेपाल र युएईबीचको खेलको विजेता टोली प्रतियोगिताको च्याम्पियन बन्दै आगामी वर्ष सन २०२४ मा श्रीलंकामा हुने यू १९ विश्वकप खेल्ने अवसर प्राप्त गर्नेछन् ।
यूएईसँग नेपाल २०१९ मा एक रनले पराजित भएको थियो । त्यही हारको बदला लिन नेपाली खेलाडी प्रयासमा छन् । मलेसियाको किनारारा ओभल क्रिकेट एकेडेमीमा नेपाल २०१९ अप्रिल १३ मा युएईसँग डीएल मेथडका आधारमा एक रनले पराजित भएको थियो ।
नेपाली टीममा देव खनाल (कप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दिपक बोहरा, उत्तम थापा मगर, दिपक डुम्रे, दिपेश कंडेल, हेमन्त धामी, दुर्गेश गुप्ता, सुबास भण्डारी, विशाल बिक्रम केसी, मिलन बोहरा, आकाश चन्द रहेका छन् ।