
राष्ट्रपति निर्वाचनमा आफ्ना उम्मेदवारलाई भोट माग्न नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेको नेकपा एमाले अब पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्ने दाबी गरेको छ ।
राष्ट्रपतिमा आफ्ना उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई भोट माग्न पहिलोचोटी एकीकृत समाजवादीको कार्यालय पुगेको एमालेले राष्ट्रपतिको चुनाव पार्टी एकतालाई प्रक्रियालाई अगाडि बढाउने ‘टर्निङ प्वाइन्ट’ नै बनेको दाबी गरेको हो ।
‘फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि विभिन्न पार्टीसँग भेटघाट गर्दैछौं । यसै सिलसिलामा पहिलोचोटी नेकपा एकीकृत समाजवादीको कार्यालयमा आएर अध्यक्ष कमरेड सहितका पदाधिकारीसँग भेट गरेका हौं । हामीले अगाडि सारेको राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङको पक्षमा मतदान गर्न अपिल, अनुरोध गर्यौं,’ बैठकपछि एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले भने, ‘कुराकानीमा राष्ट्रपतिमा मत पाउनेमा सकारात्मक भएको छ । २ पार्टीबीच एकताको प्रक्रियालाई अगाडि बढाउने अवसर उपस्थित भएको छ । यो अवसरलाई अधिकतम प्रयोग गर्नुपर्छ भन्ने भएको छ । यही अवसरलाई समातेर फेरि पनि यस्तै भेटघाट र छलफललाई अगाडि बनाउने सहमति भएको छ ।’
समय बलवान रहेको भन्दै उनले अब सबै मतान्तर, आग्रह र पूर्वाग्रहलाई छोडेर अगाडि बढ्नुपर्ने पनि बताए । ‘अब स्थिति राम्रो हुन्छ । समयको शक्ति बलवान छ । समयको शक्तिले आग्रह, पूर्वाग्रह, द्वेष, मतान्तरलाई छोपेर अगाडि बढ्नुपर्छ । अवसरलाई प्रयोग गर्नुपर्छ,’ उनले भने ।
एमालेबाटै विभाजित भएर बनेको नेकपा एस राष्ट्रपतिको निर्वाचनमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने गठबन्धनमा छ ।
आफ्नै दलबाट छुट्टिएर बनेको नेकपा एससँग भोट माग्न उम्मेदवार सुवास नेम्वाङ, नेता विष्णु पौडेल, गुरुङ सहितका नेता बानेश्वरस्थित कार्यालय पुगेका थिए ।