उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले बदनाम ठेकेदारका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अन्याय भएको बताएका छन् ।
अब पनि सडकको काम नगरे ठेकेदारलाई कारवाही गर्ने चेतावनी उनले दिए ।
बिहीवार भक्तपुर–नगरकोट सडक अनुगमनमा गएका मन्त्री श्रेष्ठले कुनै सम्बन्धका आधारमा डिल नगर्न प्रधानमन्त्रीबाट स्पष्ट संकेत आएको बताएका हुन् ।
‘मलाई नाम केही थाहा छैन, मलाई हाम्रो सरकारसँग कसैले कन्ट्रयाक्ट गरेको थियो, कन्ट्रयाक्ट अनुसार काम भएन । मलाई नामसँग मतलब छैन, काम हुनुपर्छ,’ श्रेष्ठले भने, ‘स्वयं प्रधानमन्त्रीप्रति अन्याय भएको छ, प्रधानमन्त्रीले स्पष्ट के भन्नुभएको छ – कुनै नाता या सम्बन्धका आधारमा डिल गर्नु हुँदैन । नगरियोस् भनेर बारम्बार निर्देशन दिनुभएको छ । कामलाई हेर्ने हो ।’
फागुन मसान्तसम्म समय दिइएकोमा बीचमा क्रसर उद्योग बन्द भएका कारण केही ढिला भए पनि अब सैलुङ कन्टक्सनलाई धेरै समय नदिने उनले बताए । ‘यहाँ राजदूत आउनुभएको छ, एक्जिम बैंकका प्रतिनिधि आउनुभएको छ, किन ?’ मन्त्री श्रेष्ठले भने । सडक अनुगमनका लागि नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि पुगेका थिए ।
प्रचण्डलाई खुमलटारमा बास दिएका शारदाप्रसाद अधिकारीको सैलुङ कन्टक्सनले सन् २०१४ मा ठेक्का पाएकोमा पर्यटकीय नगरी नगरकोट जाने सडक ९ वर्षदेखि अलपत्र छ ।