१६ असार २०८३, मंगलबार
आठ दलको अभिमुखीकरण

ओलीले संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्पबारे सोचें– प्रचण्ड

फागुन १८, २०७९
ओलीले संसद् विघटन ठीक थियो भनेपछि नयाँ विकल्पबारे सोचें– प्रचण्ड

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले संसद् विघटन ठीक थियो भन्ने एमाले अध्यक्ष केपी शर्मा ओलीको अभिव्यक्तिपछि आफूले नयाँ विकल्प खोजेको दाबी गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई समर्थन दिएका ८ दलका सांसदको अभिमुखीकरण कार्यक्रमलाई बिहीवार राजधानीमा सम्बोधन गर्दै प्रचण्डले पुस २६ को संसद् बैठकमा ओलीले दिएको अभिव्यक्ति आफूले गठबन्धन बदल्नुको कारण रहेको उल्लेख गरेका हुन् ।

'मेरा लागि प्रधानमन्त्री पद ठूलो कुरा होइन, संविधान र लोकतन्त्रको रक्षा ठूलो कुरा हो। पुस २६ गतेको संसद्मा केपीजीले हिजो संसद् विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद् विघटनको विपक्षमा थियौं । हामी आफैंले त्यत्रो संघर्ष गरेर संसद् फिर्ता ल्याएका थियौं । तर, उहाँले ठीक गरेका थियौं भनेपछि हामी सोच्न बाध्य भयौं । त्यसले नयाँ परिस्थिति बन्यो,' प्रचण्डले भने ।

उनले गठबन्धनलाई सुदृढ बनाएर अगाडि बढ्ने दाबी गरे ।

'अघिल्लोपटक संविधानविपरीत संसद् विघटन भएपछि हामी सबै संविधान र लोकतन्त्रको पक्षमा उभियौं । संसद् पुन:स्थापना गर्न सडकसम्म गयौं। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो । विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो । तर, बीचमा हामी अलिकति अलमलियौं । अब ठीक ठाउँमा आएका छौं । गठबन्धन सुदृढ बनाएर अघि बढ्छौं ।'

उनले रामचन्द्र पौडेललाई थप दलको पनि समर्थन रहने दाबी गरे ।

'रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ। गठबन्धनमा रहेका दलका साथै आम जनता र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ। स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ। यो लोकतन्त्र र संविधानको हितमा छ,' प्रधानमन्त्रीले भने ।

salt training

कमेन्ट गर्नुहोस्