
अति कम विकसित मुलुकहरू (एलडीसी) को सम्मेलनमा भाग लिन उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रवार कतारको दोहा प्रस्थान गर्ने भएका छन् ।
फागुन २१ देखि २५ गतेसम्म आयोजित सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उपप्रधानमन्त्री श्रेष्ठ त्यसतर्फ प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालले यस वर्ष अति कम विकसित देशहरू (एलडीसी) को अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ । यसअघि मालवीले अध्यक्षता ग्रहण गरेको थियो ।
उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूत लगायत छन् ।
उपप्रधानमन्त्री श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन् । विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ ।
दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ । उपप्रधानमन्त्री श्रेष्ठ फागुन २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।