इजरायलका अर्थमन्त्री बेजालेल स्मोट्रिचले प्यालेस्टाइनी गाउँ हुवारालाई पूरै ध्वस्त पारेर नामनिशान मेटाइदिनुपर्ने भन्दै विवादास्पद बयान दिएका छन् ।
पश्चिमी किनारामा रहेका गाउँहरूमा इजरायलका दक्षिणपन्थीहरूले उपद्रो मच्चाएपछि आगोमा घ्यू थप्ने गरी इजरायली मन्त्रीको बयान आएको हो ।
दुईजना इजरायली दाजुभाइको हत्यापछि दर्जनौं घर र कारहरूमा अगाजनी गरिएको थियो ।
‘हुवारा गाउँको नामनिशान मेटाउनुपर्छ जस्तो मलाई लाग्छ । इजरायलले यो काम गर्नुपर्छ,’ स्मोट्रिचले बताए ।
पश्चिमी किनारमा रहेको नाब्लुस शहर नजिकका गाउँमा घातक आक्रमण गर्ने आरोप लागेका व्यक्तिहरूलाई इजरायल प्रहरीले बुधवार पक्राउ गरेको छ ।
हुवारामा लगभग ७ हजार मानिस बस्छन् ।
स्मोट्रिचभन्दा अघि उग्रवादी जिविश पावर पार्टीका एक सांसद ज्विका फोगलले हुवारामा भएको हिंसाको स्वागत गरेका थिए ।
‘हुवाराबाट आतंकवादी आएको थियो अनि हुवारा बन्द गरेर आगो लगाइयो,’ फोगलले बताए । ‘म यही हेर्न चाहन्छु । यसो गर्दा मात्र हामीले आक्रमण रोक्न सक्छौं ।’