१३ असार २०८३, शनिबार
सरसर्ती २४ घण्टा

सरसर्ती २४ घण्टा : भोट माग्न पौडेल र नेम्वाङको दौडधुप, उपसभामुखलाई पुगेन सुविधा

फागुन २०, २०७९
सरसर्ती २४ घण्टा : भोट माग्न पौडेल र नेम्वाङको दौडधुप, उपसभामुखलाई पुगेन सुविधा


‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्मुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेससहित आठ दलीय गठबन्धनका तर्फबाट राष्ट्रपति पदका साझा उम्मेदवार पूर्वसभामुख रामचन्द्र पौडेलले भोट माग्दै सबै सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई पत्र लेखेका छन् ।
यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा उनले आफूलाई मतदान गरी विजयी गराउन अपिल गर्दै प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्य तथा सातै प्रदेशका प्रदेशसभा सदस्यलाई पत्र पठाएका हुन् ।

 “नेपालका सबै मानिसको नैसङ्र्गिक अधिकार स्थापनाका लागि मैले सानै उमेरदेखि सङ्घर्षको बेडा उठाउँदै आए । फलतः निर्दलीय निरङ्कुुश सत्तासँग म अलिकति पनि झुकिन र पञ्चायतको ३० वर्षे कार्यकालमा त्यसका आधा समय त मैले जेलमै बिताएको हुँ । बहुदलीय व्यवस्थाको पुनरागमन पछिका सत्ताका दिनमा पनि कही कतै नचुकिकन देश र जनताको उन्नति, राष्ट्रिय स्वाधिनता र अस्मिताको लागि निष्ठापूर्वक सकेको सेवा गर्दै आएको र आफ्नो छविमा कतै दाग लाग्न नदिने भरमग्दुर कोसिस गर्दै आएको छु”, उनले पत्रमा उल्लेख गरेका छन् । उनले विभिन्न दलका नेताहरुलाई भेटेर भोट माग्ने कार्यलाई पनि वित्रवता दिएका छन् । 
००००
यसैगरी नेकपा एमालेले राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा शुक्रबार थप तीन राजनीतिक दलसँग मत मागेको छ । एमालेले लोकतान्त्रिक समाजावादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीसँग मत मागेको हो । 
ती पार्टीका कार्यालयमा गई एमालेले आफ्नो पार्टीका तर्फबाट उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई मत मागेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । राष्ट्रपतिका उम्मेदवार नेम्वाङसहित पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ्, सचिव योगेश भट्टराई, पोलिटब्यूरो सदस्य ठाकुर गैरसहितको टोली मत माग्नका लागि गएका थिए । राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ । निर्वाचनमा पौडेल र नेम्वाङबीच प्रतिस्पर्धा रहेको छ । 
००००
माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि मात्र वर्तमान मन्त्रिपरिषद् विस्तार र पुनःगठन हुने बताएका छन् ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन आचारसंहिता लागू भइसकेकाले विश्वासको मत लिने र मन्त्रिपरिषद्लाई पूर्णता दिन अप्ठ्यारो भएकाले आगामी चैत ५ गतेपछि मात्र प्रक्रिया सुरु हुने बताए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैले पनि गठबन्धन भत्काउने धराप नथाप्न चेतावनी दिएका छन्। शुक्रबार गठबन्धन दलहरूले राष्ट्रपति निर्वाचनको सन्दर्भमा बागमती प्रदेशका सांसदहरूलाई केन्द्रित गरेर काठमाडौँमा आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा आफूहरूका बीचमा भएको सहमति पाँचै वर्ष कार्यान्वयन भएर अगाडि बढ्ने बताए। आठ दलीय गठबन्धनले राष्ट्रपतिमा आफ्ना पक्षमा माहोल बनाउन विभिन्न स्थानमा अभिमुखीकण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
००००
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि शुक्रबार उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता भएका छन् । 
त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी सङ्गठनले उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनका लागि सङ्गठन दर्ता गराएको बताए।
००००
गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । 
गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिए ।
००००
यही फागुन २१ गते आह्वान भएको सुदूरपश्चिम प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् ।
प्रदेशसभा सचिवालयले शुक्रबार जारी गरेको सूचनामा फागुन २१ गते अपराह्न १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मत लिने कार्यसूची रहेको उल्लेख छ ।
००००
नेपाल पर्यटन बोर्डले नेपाल भ्रमणमा आउने  विदेशी पर्यटकले बिना पथप्रदर्शक पदयात्रामा जान नपाउने निर्णय गरेको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको हो । यो निर्णय १ अप्रिल २०२३ देखि लागु हुनेछ ।
००००
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ कतारको दोहामा हुने अतिकम विकसित मुलुक (एलडीसी)को सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन्। 
भ्रमणमा टोलीमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठ, माननीय जितेन्द्र नारायण देव, नेपाल सरकारका सचिव गणेशप्रसाद पाण्डे, मधुकुमार मरासिनी, केवलप्रसाद भण्डारी, स्वकीय सचिव सुरेशकाजी श्रेष्ठलगायत रहेका छन् ।
००००
सर्वोच्च अदालतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध रिट निवेदन दायर हुने भएको छ । यसअघि अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरेका अदालतले दर्ता गर्न आदेश दिएको हो । केही पहिले टुँडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका ५ हजारको मात्र आफूले जिम्मा लिने अभिव्यक्ति दिएकोमा सोही बारेमा छानबिनको मागसहित सर्वोच्चमा रिट दायर भएको हो ।
००००
निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन र आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनमा मतदाताहरूले मतदान गर्न जाँदा साथमा लिएर जानुपर्ने कागजातका सम्बन्धमा स्पष्ट पारेको छ ।
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा सङ्घीय संसद्का सदस्य र प्रदेशसभाका सदस्य रहेको निर्वाचन मण्डलद्वारा मतदान हुने कानुनी व्यवस्था छ ।
दुवै निर्वाचनमा निर्वाचन अधिकृतको कार्यालयबाट प्रकाशित अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा सम्बन्धित संसद् सचिवालयबाट जारी परिचयपत्र वा निर्वाचन अधिकृतबाट सम्बन्धित सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्ने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
००००
पाँच ओभरमा २ तथा ५३ रनमा ५ विकेट गुमाइसकेको अवस्था रहे पनि नेपालले पपुवा न्युगिनीविरुद्ध महत्वपूर्ण जीत निकालेको छ। नेपालले २ ओभर बाँकी छँदै सनसनीपूर्ण ३ विकेटको जीत निकालेको हो।
००००
बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई प्रमाणीकरण गरेका छन्।  बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उनले प्रमाणिकरण गरेका हुन्।
००००
अभिनेता पल शाहलाई सफाइ दिएको भन्दै उच्च अदालत पोखराअगाडि प्रदर्शन भएको छ। 
न्यायालयले गलत नजीर स्थापना गर्न लागेको भन्दै एक समूहले शुक्रबार उच्च अदालत पोखरामा केही समय शान्तिपूर्ण विरोध प्रदर्शन गरेको हो ।
००००
प्रदेशको नाम कोशी राखिएको भन्दै पहिचानवादी केही संस्थाले विराटनगरमा सडक आन्दोलन गरेका छन् । लिम्बुवान किरात संघर्ष समितिले विराटनगरमा धर्ना दिएका छन् हुन् । मुख्यमन्त्री कार्यालय अगाडि रोडशेष चोक र प्रदेशसभा भवन अगाडि उनीहरूले विरोध प्रदर्शन गरेका हुन्।
००००
प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छन्। 
भ्रष्टाचारविरुद्ध सांसदहरूको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकै कारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको बताइन्।
उपसभामुख रानाले त्यस्ता खालका गतिविधि सहन गर्न नसकिने समेत बताइन्। पुरुष उपसभामुख हुँदा पाउने सुविधा अहिले आफूले नपाएको उनको भनाइ थियो ।
उपसभामुख रानाले आफूलाई निवासको सुविधा दिने कुरामा पनि राज्य गम्भीर नभएको आरोप लगाइन्। उनले आफूलाई सेनाको सुरक्षा नदिइएको र घरभाडा पनि कम दिइएको बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्