काठमाडौं, १० भदौ महानगरीय प्रहरी आयुक्तमा शुक्रबार एआइजी जयबहादुर चन्दले पदभार ग्रहण गरेका छन् । बढुवापछि गत साता सरकारले उनलाई महानगरीय प्रहरी आयुक्तका रूपमा सरुवा गरेको थियो ।

पदभारपछि उपत्यकाका प्रहरी अधिकारीहरूसँगको भेटमा उनले उपत्यकामा प्रहरीले प्रदान गर्ने सेवा अझै राम्रो बनाउन निर्देशन दिए । उनले राजधानीको सुरक्षा व्यवस्थाले देशको अन्तर्राष्ट्रिय छविसमेत दर्शाउने भएकाले यहाँको प्रहरी सेवा उत्कृष्ट बनाउन जोड दिए, आजको नयाँ पत्रिकामा खबर छ ।
‘प्रहरी शासक होइन, सेवक हो,’ उनले भने, ‘जनतामा सुरक्षाको अनुभूति हुने गरी जनमैन्त्री सेवा प्रदान गरी आपराधिक गतिविधि तथा गुन्डागर्दीलाई निरुत्साहित पार्नुपर्छ ।’
एआइजी चन्दले ६ महिनापछि जिम्मेवारी पाएका हुन् । १ फागुनमा सरकारले उनलाई आइजिपीमा बढुवा गरेको थियो । तर, अदालतले उक्त निर्णय बदर गरेपछि उनी डिआइजीमा झरेका थिए । त्यसयता गृह मन्त्रालयमा हाजिर गर्दै आएका चन्दले बढुवापछि जिम्मेवारी पाएका हुन् ।