
शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘छक्का पञ्जा ४’ले हलमा हाउसफुलको व्यापार गरिरहेको छ ।
हलमा दर्शकको भिड् लागिरहँदा चलचित्रका महत्वपूर्ण ‘क्लिप’हरू भने टिकटकमा छ्यापछयाप्ती भइरहेका छन् ।
दर्शकहरुले मोवाइलले खिचेर चलचित्रका क्लिपहरू टिकटकमा राखिरहेका छन् ।
यसले चलचित्र हेर्न नगएका दर्शकमाझमा कथा छताछुल्ल बनाउने हो कि भन्ने डर निर्माण टिममा छ ।
यसरी चलचित्रका क्लिपहरू खिचेर सामाजिक सञ्जालमा राख्नु गैरकानुनी हो । तर पनि हलले कडाइ नगर्दा चलचित्रका महत्वपूर्ण क्लिपहरू सार्वजनिक भइरहेका छन् ।
यसअघि ‘कबड्डी ४’, ‘झिंगेदाउ’ लगायतका नेपाली चलचित्रका क्लिपहरू टिकटकमा छ्यापछयाप्ती भएका थिए । चलचित्र खिचेर टिकटकमा अपलोड गर्ने क्रम बढेपछि नेपाल चलचित्र संघले यसमा कडाइ गर्न हलहरूलाई निर्देशन दिएको थियो ।
तर पनि हलले कडाइ गर्न नसक्दा चलचित्रका साना साना क्लिपहरू सार्वजनिक हुने क्रम रोकिन सकेको छैन ।
हेमराज बिसीको निर्देशन रहेको ‘छक्का पञ्जा ४’मा दीपकराज गिरी, दीपाश्री निरौला, बेनिशा हमाल, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, नीर शाह, निर्मल शर्मा, अनुराग कुवँर लगायतका कलाकारहरूको अभिनय छ । राजनीतिक कथामा दीपकराज र दीपाले यो चलचित्र बनाएका हुन् ।
चलचित्रले दर्शकको साथ पाइरहँदा कलाकारहरू राजधानीका हलहलमा पुगिरहेका छन् ।