
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१४ बुइपास्थित पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर पार्क (उद्यान) को काम अन्तिम चरणमा पुगेको छ । किरात ऐतिहासिकस्थल बुइपास्थित पञ्चदोबाटोमा प्रदेश सरकार र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले संयुक्त रुपमा रु ११ करोड ५८ लाख १६ हजार लागतमा किराती प्रथम राजा यलम्बरको १०० फिट अग्लो शालिक (प्रतिमा) सहितको उद्यान निर्माण शुरु गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकासँगको सम्झौताअनुसार निर्माण गर्नुपर्ने भौतिक संरचनाको काम अन्तिम चरणमा पुगेको ठेकेदार कम्पनीका इञ्जिनियर राजन पुँडासैनीले जानकारी दिए । “निर्माणाधीन यलम्बर पार्कको भौतिक प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको छ”, उनले भने, “अहिले यलम्बरको शालिक राख्ने ठाउँको काम गरिरहेका छौँ । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सम्पन्न गरेर नगरपालिकालाई हस्तान्तरण गर्नेगरी निर्माणको कामलाई तीव्रता दिइएको छ ।”
निर्माणाधीन यलम्बर पार्कमा आव २०७६÷७७ मा नगरपालिकाबाट विनियोजन भएको रु ७२ लाख बजेटबाट प्रवेशद्वार, घेराबार, सुरक्षाकर्मी बस्ने ठाउँ, टिकट काट्ने ठाउँ, रेष्टुरेण्ट गृह र पसल सञ्चालन गर्ने गृहको भवन लगायतका भौतिक संरचना यसअघि उपभोक्ता समितिमार्फत निर्माण गरिएको थियो । बुइपामा स्थापना गर्न लागिएको यलम्बरको पूर्ण कदको शालिक विश्वमा निर्माण भएकामध्ये अहिलेसम्मकै सबैभन्दा अग्लो र ठूलो हुने दाबी गरिएको छ ।
पञ्चदोबाटोमा निर्माणाधीन यलम्बर उद्यानभित्र घुमफिर गर्ने ठाउँ, विश्राम गर्ने फलामे कुर्सी, निःशुल्क वाइफाई, कफी तथा फास्टफुडलगायतका सेवा उपलब्ध हुने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए । चोभारको मञ्जुश्री उद्यान शैलीमा निर्माण सुरु गरिएको पञ्चदोबाटोको यलम्बर उद्यान उमा–तुवाचुङ–अनसुवी जेभीले ठेक्का लिएको हो ।
पार्कमा राखिने किराती प्रथम यलम्बर राजाको शालिकको कामसमेत अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका प्रतिनिधि एवं तुवाचुङ कन्ट्रक्शन प्रालिका प्रबन्ध निर्देशक सुनिल राईले बताए । “भक्तपुरस्थित निकोसेरामा तीन रोपनी जग्गा भाडामा लिएर दक्ष कालीगढलाई शालिक निर्माणको काम लगाएका छौँ”, उनले भने, “निर्माणाधीन यलम्बर उद्यानमा स्थापना गरिने फाइवर प्रयोग गरेर निर्माण गरिने यलम्बर राजाको सय फिट अग्लो शालिकको अहिले टाउको बनाउने काम भइरहेको छ । आगामी चैत मसान्तसम्म पार्क निर्माणस्थलमा ल्याएर स्थापना गरिसक्छौँ ।”
नगरपालिकाको गौरवको आयोजनाअन्तर्गत राखिएको यलम्बर उद्यानको आम्दानी ६० प्रतिशत नगरपालिका र ४० प्रतिशत प्रदेशमा जम्मा गर्नेगरी दुई पक्षीय सम्झौतामा उल्लेख छ । सगरमाथा राजमार्गको दिक्तेल–गाईघाट सडक खण्डमा पर्ने बुइपामा निर्माणाधीन यलम्बर पार्क पर्यटकका लागि आवातजावत गर्नसमेत सहज हुने गरी निर्माणस्थल छनोट गरिएको बुइपाका वडाध्यक्ष राईले जानकारी दिए । रासस