प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै तीतामिठा बिर्सिएर माओवादी धारका सम्पूर्ण शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् ।
शहीद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आइतवार राजधानीमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ढिलोचाँडो माओवादी आन्दोलन एक ठाउँमा उभिने बताएका हुन् ।
‘केही चिज शुरू गरिएको छ । हामी कमजोर भएको कारणले होइन, माओवादी आन्दोलन र प्रभाव विभिन्न धारामा भए पनि एक ठाउँमा हुँदादेखि नै प्रतिक्रियावादीले भ्रम छर्ने र घेरा हाल्ने काम गरेका छन् । यसैले एकताबद्ध हुनुपर्छ भन्ने आवश्यकताबोध हुनु एउटा शक्ति हुनु हो,’ प्रचण्डले भनेका छन्, ‘माओवादी आन्दोलन ठूलो प्रवाहको रूपमा अगाडि आयो । शान्ति प्रक्रिया फेरि धेरै भंगलामा गयो । यी भंगाला एक भएर विशाल सागरतिर जाने बेला भयो । बाबुराम, विप्लव, धर्मेन्द्र, किराणजीहरूले हासिल गरेका सबै तितामिठा अनुभव हाम्रै हुन् । हामी भनेका बेला बलियो हुन्छौं । कसैले कमजोर बनाउन सक्दैन । हामीले अनुभव गरेका तीतामिठा अनुभव साझा हुन् । हामी एक ठाउँमा केन्द्रित हुने अनुभव गयौं भने हामीलाई कसैले पनि रोक्न सक्दैन ।’
माओवादी शक्ति एक ठाउँमा उभिएर लाखौंजना सडकमा उत्रिने हो भने माओवादीले फेरि नयाँ यात्रा शुरू गर्ने दाबी प्रचण्डले गरेका छन् ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय घेराबन्दीविरुद्ध लडिरहेको भन्दै उनले एकत्रित भएर लड्दा माओवादी आन्दोलन अजेय र अमर हुने बताए । यो क्रम शुरू भइसकेको पनि उनको भनाइ छ । तेस्रोपटक प्रधानमन्त्री हुँदा आफूले केही न केही नयाँ गरेर देखाउने पनि प्रचण्डले बताए ।
अब माओवादीहरू कुनै न कुनै हिसाबमा एउटै मोर्चा भएर अगाडि बढ्ने दाबी प्रचण्डले गरेका छन् । आफूले प्रधानमन्त्री भएपछि फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने घोषणा कोशेढुंगा नै भएको उनको भनाई छ ।
‘अहिले केही भूतप्रेत बाटोमा निक्लिँदैमा केही हुनेवाला छैन । अहिले सरकारको तर्फबाट जनयुद्ध र आन्दोलनलाई श्रद्धा गर्ने क्रम बढ्दा प्रतिक्रियावादी तर्सिएका छन् । यसैले माओवादीलाई गाली गर्ने, बदनाम गर्ने काम भएको छ । भ्रम छर्ने, सखाप पार्ने प्रतिक्रियावादीविरुद्ध हामी भ्रममुक्त गराउने गरी अघि बढ्दै आएका छौं,’ उनले भने, ‘विभिन्न समयमा जे कसरत भएका छन् । माओवादीहरू एक ठाउँमा उभएिर जनतालाई अपिल गर्ने, एक ठाउँमा उभिएर शहीद बेपत्ताको भावनालाई समेट्ने संकल्प गर्दा फेरि नयाँ ठाउँमा पुग्छौं ।’