
व्यवसायी दुर्गा प्रसाईंले बैंक तथा वित्तीय संस्थाहरूलाई ‘शत्रु’को संज्ञा दिएका छन्।
आइतबार काठमाडौंको माइतीघरमा आयोजित एक कार्यक्रममा उनले बैंक तथा वित्तीय संस्थाहरूले साथ दिनेभन्दा पनि शत्रुको व्यवहार गरेको भन्दै आपत्तिसमेत जनाए।
सर्वहारा वर्गलाई मारमा पार्ने काम गरेकाले आफूले बैंक तथा वित्तीय संस्थाहरूको विरोधमा आन्दोलन शुरू गर्नुपरेको बताए।
प्रसाईंले १७ लाख परिवारको घर बैंक तथा वित्तीय संस्थाहरूले लिलामी गर्ने सूचना आफूले पाएको दाबीसमेत गरे। उनले भने, ‘बैंक, लघुवित्त, सहकारीहरूले साथ दिने होइन, शत्रुको रूपमा व्यवहार गर्ने काम भयो । आफ्नै घरमा समेत बस्न नदिने अवस्थामा बैंकहरूले पुर्याए। त्यसो भएपछि आफूहरूले आन्दोलन नै शुरू गर्नुपर्यो।’
प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ महाअभियान सञ्चालन गर्ने भन्दै काठमाडौंमा शनिबार (हिजो) बाट आन्दोलनको कार्यक्रम शरू गरेका छन्।
त्यस क्रममा उनका समर्थकहरूले गणतन्त्र, संघीयता खारेज हुनुपर्ने जिकिर गर्दै प्रदर्शन गरिरहेका छन् ।
गणतन्त्रमा नेता धनी हुने, जनता बैंकहरूको महँगो ब्याज तिर्न नसकेर आत्मदाह गर्नुपर्ने अवस्था आएकाले आफूहरूले विरोध गर्नु परेको प्रसाईंको भनाइ थियो ।