२६ असार २०८३, शुक्रबार

प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला शुरु

फागुन २२, २०७९
प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला शुरु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला आइतबारदेखि शुरु भएको छ । व्यापार मेलाको नेपाली कांग्रेसका नेता एवं  सङ्घीय सांसद डा शशांक कोइरालाले उदघाटन गरे । 

मेलाको उदघाटन गर्दै नेता कोइरालाले आफू कृषिमन्त्री भएमा कृषिमा ठूलै परिवर्तन ल्याउन सक्ने बताए । “हुन त मलाई कृषिमन्त्री बन्न मन छैन तर मैले कृषि मन्त्रालय लिएँ भने कृषिमा अचम्मको काम गर्न सक्छु भन्ने विश्वास छ” नेता कोइरालाले भने । नेपालको कृषि क्षेत्रमा धेरै सम्भावना रहेको भन्दै नेता कोइरालाले कृषि क्षेत्रको विकास नभएसम्म नेपालको विकास हुनै नसक्ने चर्चा गरे ।  

नेपालमा १७ लाख हेक्टर खेतियोग्य जमिन भएको उल्लेख गर्दै कोइरालाले यस जमिनबाट भएको उब्जनीबाट तीन करोड मात्रै नभएर २५ करोड जनताका लागि खाद्यान्न उत्पादन गर्न सकिने सकिने बताए । कोइरालाले नेपालमा कृषि क्षेत्रमा सम्भावना हुँदाहुँदै पनि जमिनहरु बाँझो राख्नु दुर्भाग्य भएको बताए । 

“अहिले गाउँमा गयो भने जमिनहरु बाँझो र रित्तो छन्” उनले भने, “हामीले कृषिलाई प्रोत्साहन गर्नुपर्छ ।” सरकारले कृषिलाई अनुदान दिन सक्नुपर्ने भन्दै नेता कोइरालाले कृषिमा सरकारले एक प्रतिशत पनि बजेट छुट्याउन नसकेको चर्चा गरे ।  

महोत्सव उदघाटनका क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादन र सेवालाई उपभोक्तासम्म लग्न सकियो भने नेपालको व्यापार घाटा कम हुने बताए । व्यवसायी ढकालले गण्डकी प्रदेश धेरै सम्भावना बोकेको प्रदेश भएकाले यहाँको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष चण्डीराज ढकालले स्थानीय उत्पादन र सेवालाई उपभोक्तासम्म लग्न सकियो भने नेपालको व्यापार घाटा कम हुने बताए । ढकालले गण्डकी प्रदेश धेरै सम्भावना बोकेको प्रदेश भएकाले यहाँको आर्थिक विकासमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्नसक्ने बताए । नेपाल अहिले गाह्रो अवस्थाबाट गुज्रिएको उल्लेख गर्दै ढकालले कोरोना कहरका कारण घटेको रेमिट्यान्स, विदेशी पर्यटक विस्तारै बढ्न थालेका बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशको आयोजनामा शुरु भएको महोत्सवमा आयोजक संस्थाका अध्यक्ष सञ्जीवबहादुर कोइरालाले गण्डकी प्रदेशको आर्थिक उत्थानका लागि महोत्सव आयोजना गरिएको बताए । महोत्सवका कारण गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाको रुपमा घोषणा गरेको नवलपुरको लोकाहा खोला औद्योगिक क्षेत्र, तनहुँको शुक्लागण्डकी तथा पोखरामा निर्माणाधीन औद्योगिक ग्राम एवं धौवादी फलाम खानी निर्माणका लागि सन्देश प्रवाह हुने कोइरालाको भनाइ छ । मेलामार्फत नवलपुरका सबै पर्यटकीय क्षेत्रको प्रवर्धन तथा सम्भावनाको खोजी गर्दै त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथसम्मको पर्यटकीय करिडरको प्रचार गर्ने कोइरालाले बताए । 

महोत्सवको सहसंयोजक एवं जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष अमृत भट्टचनले गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्धन तथा बजारीकरणमा महोत्सवले सघाउ गर्ने विश्वास व्यक्त गरे ।  महोत्सवमा औद्योगिक व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना र प्रविधि प्रदर्शनी तथा दैनिक उपभोग्य वस्तुहरुको घरायसी सामान, लत्ताकपडा, श्रृङ्गारका सामग्रीसहितका ३०० स्टल रहेको भट्टचनले बताए । 

‘उद्योग, व्यापार, कृषि र पर्यटनको समन्वय ः समृद्ध र समुन्नत प्रदेशको उदय’ भन्ने मूल नाराका साथ शुरु भएको महोत्सव चैत १ गतेसम्म सञ्चालन हुनेछ । करिब रु १० करोड बराबरको कारोबार हुने अपेक्षा गरिएको महोत्सवको एक लाखले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सव प्रवेशका लागि सर्वसाधारलाई रु ८० तथा विद्यार्थीलाई रु ५० को टिकटको व्यवस्था गरिएको भट्टचनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्