
देशभर पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेकाले आज दिउँसो कोशी, गण्डकी र सुदूरपश्चिमको केही पहाडी भूभागमा मेघ गर्जनसहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ती प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै, फागुन २३ गते भोलि मंगलबार देशको पहाडी भूभागमा आंशिक बदली हुनेछ । बाँकी भूभागमा मौसम सामान्यतः सफा रहने छ । कोशी, गण्डकी प्रदेशको पहाडी भूभागको केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । सो राति कोशी, गण्डकी प्रदेशको उच्च पहाडी भूभागका केही ठाउँमा हल्का हिमपात हुनेछ ।
सोहीअनुसार २४ गते बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली हुनेछ । सो दिन कोशी, गण्डकी प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हलका वर्षा हुने विभागले जनाएको छ । राति सो प्रदेशको उच्च पहाडी भूभागमा हल्का हिमपात हुनेछ । बाँकी भूभागमा मौसम सफा रहने छ । त्यस्तै, तराईको लुम्बिनीसहित केही स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।