
नेपालका ब्याटरहरू नचलेको बेला यूएईविरुद्ध सन्दीप लामिछानेले भने २७ रन बनाएका छन्।
एकपछि अर्को गर्दै लगातार नेपालका ब्याटरहरू आउट हुँदै गएपछि आएका सन्दीपले भीम सार्कीसँग मिलेर ६४ रनको साझेदारी गरे। यस क्रममा उनले एक चौका पनि हिर्काए।
आज क्याच आउट भएका सन्दीपले फागुन १९ गते पीएनजीविरुद्ध पनि नटआउट ३५ रन बनाएका थिए।
आज नेपालले अनुभवी ब्याटर ज्ञानेन्द्र मल्ल र आशिफ शेखलाई ओपनिङमा खेलाएको थियो। तर उनीहरूको जोडी खासै राम्रो जमेन।
आशिफ १४ बलमा ६ रन तथा ज्ञानेन्द्र २६ बलमा ११ रन बनाएर आउट भएका हुन्।
आज नेपालका कप्तान रोहित पौडेल मात्र १ रन बनाएर आउट भए।
आज नेपाली टोलीमा एक परिवर्तन भएको छ । ओपनर कुशल भुर्तेलको स्थानमा तीव्र गतिका बलर प्रतिस जीसीले मौका पाएका छन् ।
आईसीसी क्रिकेट विश्वकप 'लिग टु'अन्तर्गत यूएई सिरिजको अन्तिम खेलमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको हो।
यो समाचार तयार पार्दासम्म नेपाल ३३ ओभर सकिँदा ६ विकेट गुमाएर १२४ रनको अवस्थामा छ।