
टेलिभिजन गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन–२’को प्रसारण भोलि (शुक्रबार)बाट सुरु हुँदैछ ।
६ देखि १४ वर्षसम्मका बालबालिकाहरूको सहभागिता रहने शो प्रसारणको पूर्वसन्ध्यामा बिहीवार बेलुका राजधानीमा पहिलो एपिसोडको ग्राण्ड प्रिमियर गरिएको छ ।
प्रिमियरमा कोच प्रमोद खरेल, निर्देशक लक्ष्मण पौडेल र प्रस्तोता सुशील नेपाल उपस्थित रहे ।
डिजिटल अडिसनमा सहभागी भएका हजारौं प्रतियोगी बालबालिकाबाट छानिएका ६५ मध्ये ६ जना प्रतियोगीहरुले पहिलो एपिसोडमा कोचको सामना गरे ।
सुरुवाती केही एपिसोड ब्लाइन्ड अडिसनको हुनेछ ।

अघिल्लो सिजनका कोच राजु लामाको ठाउँमा यसपटक गायक सुशान्त केसी भित्रिएका छन् । गायक प्रमोद खरेलसहित गायिकाद्धय मिलन नेवार र प्रविशा अधिकारी कोचका रुपमा यसपटक पनि यथावत नै छन् ।
शुक्रवारदेखि प्रशारण हुने ‘ब्लाइन्ड अडिसन’मा कोचको कुर्सी घुमाउन सफल प्रतियोगी बालबालिकाले अघि बढ्ने मौका पाउनेछन् । हरेक कोचको टिममा छानिएका १२ जना प्रतियोगी बालबालिकाले ब्याटल राउण्डमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलोभन्दा दोस्रो सिजनलाई अझ राम्रो बनाउने प्रयास गरेको निर्माण टिमले जनाएको छ । प्रिमियरमा शो हेरेपछि विभिन्न क्षेत्रका व्यक्तिहरूले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । प्रिमियरमा पाएको प्रतिक्रियाले आफूहरूलाई उत्साहित बनाएको निर्देशक लक्ष्मण पौडेलले बताए । हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेबाट शो प्रसारण हुनेछ ।