
फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी : मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन भएको छ । ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालको नेतृत्वमा अन्य १२ जना नेपाली महिलाले लेखेको पुस्तक एक कार्यक्रमबीच लोकार्पण गरिएको हो ।
फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले सो पुस्तक विमोचन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पेरिस्थित नेपाली राजदूतावासका प्रमुख अधिकारीले नेपाली छोरीहरुले लेखेका कृति विश्वको आकर्षणको केन्द्र एफिल टावरबाट लोकार्पण हुनु ऐतिहासिक भएको बताए । दृष्टिबिहिन भए पनि पुस्तक लेखनजस्तो गहन कार्य गर्ने र यसको नेतृत्व लिने दाहालको कर्मप्रति उनले मुक्तकण्ठले प्रशंसा गरे ।
यस्तै दूतावासका उपप्रमुख बस्नेतले नेपाली नारीहरु अहिल पनि घरेलु हिंसा, बलात्कारजस्ता घटनाको शिकार हुनुपरेको भन्दैव्व्यवहारिकरुपमा समाजको सोच नबदलिएसम्म महिलाका समस्या समस्यामै सीमित रहने बताइन् । ‘आमा छोरी ः मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तकको लेखनमा प्रेरणा र नेतृत्व लिने दृष्टिबिहिन लेखिका बुना दाहालले पुस्तक विश्वभरका आमा छोरीको सम्बन्धको प्रतिनिधित्व गरेको बताइन् ।
उनले आफूले दृष्टि नदेखे पनि एफिल टावर चढेर पुस्तक सार्वजनिक गर्नुको कारण दृष्टिविहिन र महिलाप्रति समाजले गर्ने व्यवहारप्रति सांकेतिक खबरदारी रहेको बताइन् । अमेरिका, बेलायत र नेपालमा रहेका विभिन्न १२ जना नेपाली लेखिकाहरुले आमा छोरीबीचको सम्बन्ध, आमाले परिवारमा खेल्ने भूमिकालगायतको विषयलाई अनुभवको रुपमा पुस्तकमा उल्लेख गरेका छन् । डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ले पुस्तकको प्रकाशन गरेको हो । १ सय ९० पृष्ठ रहेको ‘आमा छोरी ः मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तक साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित्ले सम्पादन् गरेका हुन् ।