
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ६ दिनका लागि आज बहराइन जाँदैछन् । फागुन २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर व्यवस्थापिका संघको १४६ औं बैठकमा भाग लिन सभाभुख घिमिरे बहराइन जान लागेका हुन् । सभामुखमा निर्वाचित भएपछि उनको यो पहिलो विदेश भ्रमण हो ।
नौ सदस्यीय नेपाली प्रतिनिधिमण्डल टोलीको नेतृत्व गर्दै आज शुक्रबार सभामुख बहराइन जान लागेको संघीय संसद् सचिवालयका सहप्रवक्ता दशरथ धमलाले बताए । सभामुख घिमिरेले नेपालको तर्फबाट सो बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको सहप्रवक्ता धमलाले बताए ।
सभामुखको प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एमाले) का राष्ट्रियसभा सदस्य इन्दु कडरीया, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, संसद् सचिवालयका महासचिव डा. भरतराज गौतम र प्रतिनिधिसभाका सचिव गोपाल योगी सहभागी हुने सचिवालयले जनाएको छ । सभामुख घिमिरेको टोली आज साँझ ७ बजे बहराइन जाने र आगामी चैत २ गते स्वदेश फर्किने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले बताए ।