
पूर्व माओवादी घटकका पार्टीहरूका नेताहरुको संयुक्त बैठक सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज शुक्रबार विहानदेखि भएको बैठक सम्पन्न भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । आजको बैठकबारेमा आउने आइतबार २८ गते पत्रकार सम्मेलन गरेर जानकारी गराउने निर्णय बैठकले गरेको छ ।
बैठकले शान्ति प्रक्रियालाई चाँडोभन्दा चाँडो टुंगोमा पुगाउने, माओवादीविरुद्ध भइरहेको गलत विषयलाई चिर्ने निर्णय बैठकले गरेको छ । त्यसकालागि संयुक्त अपिल प्रकाशन गर्ने, संयुक्त पत्रकार सम्मेलन गर्नेदेखि फागुन ३० गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले बताए ।
पछिल्लो समय शान्ति प्रक्रियाको उल्लंघन गर्ने घटनामा बृद्धि भएकाले त्यसमा सावधानी अपनाउने, शान्ति प्रक्रियालाई छिटो टुंगो लगाउनेगरी कामकाज अघि बढ्ने विषयमा छलफल भएको उनले बताए । विहान भएको पूर्वमाओवादी घटकहरुको बैठकमा शान्ति प्रक्रियाको उल्लंघन गर्नेखालका प्रवृत्तिहरू देखिएका छन्, त्यो मान्यतालाई खण्डित गर्दै, शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउने, शान्ति प्रक्रियाका कामहरू छिटो सक्न संयुक्त अपिल प्रकाशन गर्ने, प्रेस मिट गर्ने २८ गते दिउँसो सबै नेताहरू मिलेर भन्ने कुरा भएको उनले प्रष्ट पारे ।
शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने खालका प्रवृत्ति देखिएको भन्दै शान्ति प्रक्रियाको पक्षमा र शान्ति प्रक्रियालाई छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ भन्ने पक्षमा नै निरन्तर अभियान जारी राख्ने निर्णय भएको महासचिव गुरुङले बैठकपछि जानकारी गराए ।
‘अदालतको कुरा कानूनी प्रक्रियाअनुसार नै अघि बढ्ने उनले बताए । शान्ति प्रक्रिया उल्लंघन गर्ने, उल्ट्याउने, खालका जुन प्रवृत्तिहरु देखिएका छन्, त्यो प्रवृत्तिका बारेमा सजग र सतर्क रहेको उनले बताए । बैठकमा अध्यक्ष प्रचण्डसहित पूर्व माओवादी नेताहरु सीपी गजुरेल, खड्गबहादुर विश्वकर्मा, कर्णजीत बुढाथोकी, आहुति, हेमन्तप्रकाश ओली, दीपक चलाउने, धर्बेन्द्र बास्तोला, हिसिला यमी, कृष्णबहादुर महरा, देव गुरुङलगायतका नेता तथा पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।