
निर्वाचन आयोगले राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपति निर्वाचनमा उम्मेदवार मनोनयन दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
आयोगको शुक्रबार बसेको बैठकले राष्ट्रपति पुरुष भए उपराष्ट्रपति महिला वा फरक समुदायको व्यक्ति हुनुपर्ने आयोगले प्रस्ट पारेको हो ।
‘उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ताको सन्दर्भमा उम्मेदवारको योग्यताबारे थप स्पष्टतासहित नवनिर्वाचित सम्माननीय राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको मनोनयन पत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरिएको छ,’ आयोगले विज्ञप्ति जारी गर्दै भनेको छ ।
आयोगले राष्ट्रपतिमा निर्वाचित भएका रामचन्द्र पौडेल खसआर्य समुदायका पुरुष रहेको भन्दै उपराष्ट्रपति खस आर्य पुरुषभन्दा फरक लिङ्ग (महिला वा अन्य) वा फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेशी, थारू वा मुस्लिम) को व्यक्ति हुनुपर्ने खुलाएको छ ।
आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले समावेशी बनाऔं भन्दा महिला उपयुक्त भए पनि संविधानतः फरक समुदायको पुरुष हुँदा पनि फरक नपर्ने आशय विज्ञप्तिको रहेको खुलाए ।
यस्तो छ व्यवस्था
नेपालको संविधानको धारा ७० मा “यस संविधानबमोजिम राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन फरक–फरक लिङ्ग वा समुदायको प्रतिनिधित्व हुने गरी गर्नुपर्नेछ,” भन्ने व्यवस्था छ ।
साथै, राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा (५) मा “यस दफाबमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हुन्छ सो भन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नु पर्नेछ,” भन्ने व्यवस्था रहेको छ ।
