मोल्दोभाबाट छुट्टिन खोजेको ट्रान्सनिस्ट्रियाका अधिकारीहरूलाई युक्रेनले हत्या गर्न खोजेको र त्यस षड्यन्त्रलाई आफूहरूले रोकेको रुसपक्षधर अधिकारीहरूले बताएका छन् ।
मोल्दोभाको पूर्वी भागमा रहेको ट्रान्सनिस्ट्रिया युक्रेनको छिमेकमा पर्छ । त्यहाँ रुसले आफ्ना सैनिकहरू तैनाथ गरेको छ ।
युक्रेनका सुरक्षा निकायहरूको निर्देशनमा गर्न लागिएको आतंकवादी आक्रमणलाई आफूले निस्तेज पारेको पृथक्तावादी अधिकारीहरूको भनाइ छ ।
‘आरोपितहरूलाई हिरासतमा लिइएको छ र उनीहरूले साबिती बयान दिइसकेका छन्,’ अधिकारीहरूले बताए ।
शीर्ष अधिकारीहरूलाई सखाप पार्ने उद्देश्य आतंकवादीहरूले लिएको ट्रान्सनिस्ट्रियाका अभियोजनकर्ता एनातोली गुरेत्स्कीले आरोप लगाए । त्यसको प्रशासनिक केन्द्र तिरास्पोलमा आक्रमण गर्न खोजिएको उनको भनाइ छ ।
आरोपितहरूले ल्यान्ड रोभरमा आठ किलो विस्फोटक पदार्थ राखेर उडाउन खोजेको सरकारी टेलिभिजन च्यानल फर्स्ट प्रिड्नेस्ट्रोभियनले खबर दियो ।