०६ साउन २०८३, बुधबार

'प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्थाविपरीत अभिव्यक्ति दिए'

फागुन २६, २०७९
'प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्थाविपरीत अभिव्यक्ति दिए'

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको भनाइप्रति असन्तोष व्यक्त गरेका छन्। 

शुक्रवार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्थाविपरीत अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए।

उनले नेपालको संविधानले फरक लिंग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए।

संविधानको व्यवस्थाविपरीत आयोगले निर्णय गरेको भन्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले बोलेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकूल नरहेको स्पष्ट पारे।

आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोलेको कुरा नमिल्ने भन्दै संविधानले स्पष्ट व्यवस्था गरेअनुसार नै उपराष्ट्रपतिको उम्मेदवार छनोट हुने उनले जिकिर गरे। 

प्रमुख आयुक्तसँग छलफल गरेर आयोगको सोचाइबारे बुझेर मात्रै आफूहरू अघि बढ्ने बताए। 

उनले भने, ‘महिला उम्मेदवारबाहेक उपराष्ट्रपतिमा उम्मेदवार नबनाउनु भनेको छ, यसमा कांग्रेसको मात्रै टिप्पणी भन्ने होइन, कानूनले के भनेको छ ? नेपालको संविधानले के भनेको छ, फरक लिंग वा फरक समुदाय हुनुपर्छ भनेको छ । एउटै समुदायको पुरुष राष्ट्रपति हुन सक्दैन भनेर संविधानले व्यवस्था गरेको छ । तर फरक लिङ्ग वा फरक समुदायको राष्ट्रपति/उपराष्ट्रपति हुनुपर्छ भनेर संवैधानिक जे व्यवस्था छ, त्यो व्यवस्थाविपरीत निर्वाचन आयोगले निर्णय गरेको छ ।'

आफूहरूले अनलाइन सञ्चारमाध्यम हेरेको र त्यहाँबाट प्रमुख आयुक्तले यसबारे बोलेको थाहा भएको उनले बताए। भने, 'उहाँले गरेको कुरा मुलुकको वर्तमान संविधानले गरेको व्यवस्थाअनुकूल छैन । आयोगले निकालेको विज्ञप्ति र प्रमुख आयुक्तले बोल्नुभएको कुरा मिल्दैन । संविधानले स्पष्ट व्यवस्था गरेको छ । प्रमुख आयुक्तसँग हामी संवाद गर्नेछौँ । आयोगको सोचाइ, भनाइ के हो ? प्रमुख आयुक्तले संविधानविपरित कुरा हुनुपर्छ भनेर बोलेको कुरा म पत्याउँदिनँ ।’

उपसभापति खड्काले आज  राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका रूपमा बैठक बसेको बताए। उनले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवार जिताउन सहयोग गर्ने दल, कर्मचारी, निर्वाचन आयोग र सञ्चारकर्मीहरूलाई धन्यवाद ज्ञापन गर्ने निर्णय पनि आजको बैठकले गरेको बताए। 

उपराष्ट्रपतिको उम्मेदवार दरखास्त दिने समय अगावै सर्वसम्मतिले हुने उनले बताए। 

salt training

कमेन्ट गर्नुहोस्