०४ असार २०८३, बिहीबार

झारफुकको बहानामा कुटपिट गर्दा बालिकाको ज्यान गएको घटनामा १७ जना पक्राउ

फागुन २८, २०७९
झारफुकको बहानामा कुटपिट गर्दा बालिकाको ज्यान गएको घटनामा १७ जना पक्राउ
प्रतिकात्मक तस्वीर

रुपन्देहीमा झारफुकको बहानामा झाँक्रीले कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले १७ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको छ ।

रुपन्देहीको सैनामैना नगरपालिका–१० की २२ वर्षीया माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सैनामैना नगरपालिका–१० की १४ वर्षीया सीता ज्ञवालीको फागुन २० गते मृत्यु भएको थियो ।

कान दुखेर बिरामी परेकी उनलाई झाँक्रीकोमा निको पार्ने भन्दै लगिएको थियो ।

प्रहरीले माता भनिने सोनिया रेश्मी, मृतक बालिकाका बुवासहित १७ जनालाई पक्राउ गरेको रुपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरले जानकारी दिए ।

सीतालाई सोनियाले चरम यातना दिइरहे पनि उनका आफन्तले रोक लगाउनुको सट्टा भिडिओ खिचिरहे । सोही यातनाका कारण सीताको मृत्यु भएपछि मृतकका परिवारले राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगेर दाहसंस्कार गरी घटना गुपचुप राखेका थिए ।

घटना गुपचुप राख्ने प्रयत्न गरे पनि झारफुकको बहानामा चरम यातना दिइरहँदा खिचिएको भिडिओ एकाएक सामाजिक सञ्जालमार्फत बाहिरिएपछि घटना सार्वजनिक भएको थियो ।

भिडिओ सार्वजनिक भएपछि तत्काल अनुसन्धान शुरू गरेको ईलाका प्रहरी कार्यालय सालझण्डीको टोलीले सोमवार नै सोनियालाई पक्राउ गरेको थियो । घटना लुकाउन रातारात गरिएको दाहसंस्कारमा संलग्नहरू भने पक्राउ परेका थिएनन् ।

सीताको मृत्यु हुने गरी यातना दिइरहँदा हेरेर बस्ने उनका आफन्त, भिडिओ खिच्ने व्यक्ति र दाहसंस्कारमा संलग्नहरूलाई समेत पक्राउ गर्न सामाजिक सञ्जालमार्फत प्रहरीलाई दबाब परेको थियो । त्यसपछि प्रहरीले मृतक सीताका बुवासहित घटनामा र दाहसंस्कारमा संलग्नहरू समेत गरी १७ जनालाई पक्राउ गरेको जनाएको छ ।

को–को पक्राउ परेका हुन् भन्नेबारे भने प्रहरीले खुलाएको छैन ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक कुँवरका अनुसार घटनाबारे अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूको नाम सार्वजनिक नगरिएको हो ।

‘घटना अत्यन्त संवेदनशील छ । गहिरो अनुसन्धान भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक गरेका छैनौं । माता भन्ने सोनिया र मृतकका बुवासहित १७ जना पक्राउ परेका छन्,’ प्रहरी निरीक्षक कुँवरले भने । सीताका आमालाई प्रहरीले पक्राउ नगरेको उनले बताए ।

‘अहिले अनुसन्धान भइरहेकाले घटनामा संलग्न भएकाहरूबारे अझै अध्ययन गरिरहेका छौं । अनुसन्धान गर्दै जाँदा संलग्न देखिएका सबैलाई पक्राउ गर्छौं,’ उनले भने ।

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भूइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक–पटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेकी थिइन् ।

कपालमा समाइ अनुहारको भागमा थुक्ने, खरानी खुवाइदिने र लछारपछार पारी कुटपिट समेत गरेको भिडिओमा देखिएको छ ।

भिडिओका आधारमा प्रहरीले घटनाको अनुसन्धान शुरू गरेको थियो । माता सोनिया रेश्मीको घरबाट बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका विभिन्न सामग्रीहरू त्रिशुल, जग, रुद्राक्षको माला लगायत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ ।

मृतक सीता ज्ञवालीका परिवारले विगत ४–५ दिनदेखि सीता कानसम्बन्धी बिरामी भएकी, पटक–पटक अस्पताल लगेर चेकजाँच गरी औषधि सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठीक पार्छिन् भन्ने लागेर उनको घरमा लगेको बताएका छन् ।

null

salt training

कमेन्ट गर्नुहोस्