
यस वर्षको ब्लकबस्टर तेलुगु फिल्म ‘आरआरआर’मा समावेश चर्चित गीत ‘नाटू नाटू’ले ओस्कार अवार्ड जितेको छ ।
नेपाली समयअनुसार सोमबार बिहान भएको संसारकै प्रतिष्ठित ९५ औं संस्करणको ओस्कार अवार्डमा उक्त गीतले सर्वश्रेष्ठ मौलिक गीतको अवार्ड जितेको हो ।
यो गीतमा एमएम कीरावानीले संगीत निर्देशन गरेका हुन् भने शब्द चन्द्रबोसले लेखेका हुन् ।
गीतमा राहुल सिपलीगञ्ज र काल भैरवले स्वर दिएका छन् ।
ओस्कारको स्टेजमा उक्लिएर गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावानीले ट्रफी लिएका थिए ।

ओस्कार अवार्डमा ‘आरआरआर’का निर्देशक एसएस राजामौली, अभिनेताद्वय रामचरण र जूनियर एनटीआर पनि सहभागी थिए ।
यस गीतको सबैभन्दा धेरै रुचाइएको पाटो नृत्य हो । अभिनेताद्धय रामचरण र एनटीआरले जोडी बाँधेर गरेको हुकस्टेपको झलकले नै संसारभरका धेरैलाई नचाएको थियो ।
ओस्कार अवार्ड जितेसँगै ‘नाटू नाटू’ गीतलाई लिएर फेरि विश्वव्यापी चर्चा भइरहेको छ । नेपालमा पनि ‘आरआरआर’ फिल्मले आक्रामक व्यापार गरेको थियो ।
ओस्कार अवार्डमा सर्वोत्कृष्ट फिल्म भने ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वन्स’ घोषित भएको छ ।
मौलिक पटकथा र निर्देशकसहित सात विधामा यो फिल्मले अवार्ड पाएको छ ।