
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन् ।
चितवनमा संचारकर्मीसँग कुरा गर्दै लामिछानेले अहिले परिस्थिति मूल्यांकन गर्ने काम भएको भन्दै सरकारमा जानेबारे कुनै तयारी ननगरेको प्रष्ट्याएका हुन् ।
‘सरकारमा जाने तयारी भन्ने होइन । परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ ।’ रविले भने, ‘सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुन्छौं । तर अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन ।’
रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए । आफ्नो दलको राजनीतिक अभ्यास सुरुआती चरणमा रहेको सभापति लामिछानेले उल्लेख गरे । सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाई छ ।
आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको जानकारी उनले दिए ।
नागरिकता विवादमा रविको सांसद पद खारेज भएपछि उनको गृहमन्त्री पद पनि गएको थियो । यसपछि रास्वपा सरकारबाट फिर्ता भएको थियो ।