
सरकारले मलमा दिँदै आएको अनुदानलाई १५ प्रतिशतसम्म कटौती गरेर मलको मूल्य बढाएको छ । सरकारले मलमा दिँदै आएको अधिकतम ८० प्रतिशत सम्मकोलाई ६४ प्रतिशत र न्यूनतम ५८ प्रतिशतको अनुदानलाई कटौती गरेर ४६ प्रतिशतमा झारेको छ ।
२६ फागुनमा सरकारले गरेकाे निर्णयअनुसार मलमा गरिएको अनुदान कटौतीबाट मलको प्रकृति अनुसार प्रति केजी ७ देखि ११ रुपैयाँसम्म मूल्य बढेको छ ।
कृषि मन्त्रालयका प्रवक्ता प्रकाश सञ्जेलका अनुसार लागत बढेका कारण सरकारले अनुदान कटौती गर्दा मूल्य बढ्न पुगेको हो । २६ फागुन अघिको तुलनामा अब युरियामा ११ रुपैयाँ, डीएपीमा ७ रुपैयाँ र पोटासमा ९ रुपैयाँले प्रति केजीका दरले मूल्य बढेर महँगो भएको उनले बताए ।
अब युरिया मलको प्रतिकिलो किसान मूल्य १४ बाट २५ रुपैयाँ, डीएपीको ४३ बाट ५० रुपैयाँ र पोटासको ३१ बाट ४० रुपैयाँ प्रति किलो पुगेको ।
२६ फागुन अघि मलमा समग्रमा ७० प्रतिशत किसान अनुदान रहेकामा त्यसलाई कटौती गरेर औषतमा ५९.४ प्रतिशतमा झारिएको मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेरै जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार युरियामा १५.६३, डीएपीमा ६.६७ र पोटासमा १२.१३ गरी औषतमा ११.७८ प्रतिशतले अनुदान कटौती गरिएकाे छ ।