
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन गरेको बताएका छन्।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमसो दस्ताका संयोजक शम्भु थापालाई पक्रेर सरकारले अराजकता देखाएको बताए। यद्यपि संयोजक थापा पक्राउबाट छुटिसकेका छन् ।
'बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजविरुद्ध झुन्डिएर मर्नुपर्ने, विष खाएर आत्महत्या गर्नुपर्ने, शरीरमा पेट्रोल खन्याएर आत्मदाह गर्नुपर्ने स्थितिको अन्त्य गर्न हामीले गरिब, सर्वहारा वर्ग, भुइँमान्छेको लागि यो आवाज उठाएको हो,' प्रसाईंले भने, 'हिजो यही सर्वहारा वर्ग र भुँइमान्छेको नाम गरेर नेताहरू ठाउँमा पुगे,नेताहरूले पैसा कमाएर लगेर विदेशका बैंकहरूमा राखे ।'
५५ जना व्यापारी र १० जना नेताहरूले यो देशमा भाँडभैलो मच्चाएर हामी तीन करोड नेपालीमा एक करोड बाहिर बस्नुपर्ने, दुई करोड नेपालीहरू प्रेसर, सुगर, डिप्रेशनको शिकार भएर काल पर्खेर बस्ने भनी प्रश्न गरे।
'जस्तो नेकपा(एमाले)को युवा संघ, माओवादी केन्द्रको वाईसीएल र नेपाली कांग्रेसको तरुण दलजस्तै हाम्रो अभियानको कालोमोसो दस्ता बनाएको थियो । त्यो बनाएकै भरमा केही नगरीकन उहाँ (थापा) लाई पक्रेर लगेर थुनियो । कति अराजक रहेछ मुलुक,' प्रसाईंले भने।
उनले अन्य राजनीतिक दलका युवा संगठनहरू भएजस्तै आफूहरूको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भए पनि दस्ताले हालसम्म कसैलाई मोसो नदलेको भए पनि सरकारले पक्राउ गरेर व्यक्तिको संविधानप्रदत्त अधिकारमाथि हनन् गरेको बताए।
उनले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजविरुद्ध आफूहरूले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको बताए।
बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुमबासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तविरुद्ध गाउँ गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरे।
प्रसाईंले बैंक तथा लघुवित्तविरुद्ध आफूहरूको आन्दोलन जारी रहेको पनि बताए।
निरन्तर रूपमा देशभर विभिन्न आन्दोलनका कार्यक्रमहरू गरिने उनले जानकारी दिए।