०१ असार २०८३, सोमबार

अन्धविश्वासमा पर्दा छोरी गुमाएको परिवारलाई पीडामाथि पीडाको ‘पहाड’

फागुन ३०, २०७९
अन्धविश्वासमा पर्दा छोरी गुमाएको परिवारलाई पीडामाथि पीडाको ‘पहाड’

रूपन्देहीको सैनामैना नगरपालिका–१० फूलबारीकी १४ वर्षीया किशोरी सीता ज्ञवालीलाई झारफूकको नाममा यातना दिँदा मृत्यु भएको १० दिन पुगेको छ । मृतक किशोरीको घरमा अहिले सन्नाटा छाएको छ ।

आमा लीला घरमा एक्लै छिन् । लीलालाई कसैले फर्केर हेर्दैनन् ।
 
सीताको दाहसंस्कारमा सामेलहरूलाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएपछि छिमेकीले पनि लीलाको दुःखको बेला आँखा तरेका छन् । अन्धविश्वासमा पर्दा छोरी गुमाएकी लीलालाई पीडामाथि पीडा छ । ‘हामी त सबैतिरबाट एक्लियौं,’ लीलाले रुँदै भनिन्, ‘दैवले एक्लो पार्‍यो । त्यत्री भएकी छोरीलाई गुमाउनुपर्‍यो । अर्कोतर्फ गाउँछिमेकी आउने बाटो हरायो ।’
 
फागुन २० गते झारफुकको क्रममा दिइएको यातनाका कारण सीताको ज्यान गएको हो । सीताको मृत्युपछि परिवार, आफन्त र छिमेकी मिलेर रातारात सीताको अन्त्यष्टि गरे । घटनाको २ दिनपछि यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो ।

भिडियोमा सीताले माताको यातना सहन नसकेका कारण मृत्यु भएको देखिएपछि दाहसंस्कारमा गएका गाउँलेहरू पनि अनुसन्धानमा तानिएका छन् । प्रहरीले माता बताउने संज्ञा रेश्मी, माताको परिवार, मृतकका बुवा ताराप्रसाद, मृतकका मामा ईश्वरी पोखरेलसहित मलामी जाने १७ जनालाई नियन्त्रणमा लिएर थुनामा राखेको छ ।

सीता परिवारकी कान्छी छोरी थिइन् । बुवा ताराप्रसाद, आमा लीलाका ३ छोरी र १ छोरा थिए । उनी सैनामैनाको सालझण्डी माविमा ९ कक्षामा पढ्थिन् । सीतालाई केही दिनदेखि कान दुख्ने, ज्वरो आउने समस्या देखियो । गत शुक्रवार र शनिवार २ दिन लगातार सालझण्डीकै एउटा निजी क्लिनिकमा लगेर आमा लीलाले सीताको चेकजाँच गराइन् । 

बाबु मेडिकल हलमा पिसाब, रगत जाँच गरी दिउँसो स्लाइन चढाएर उपचारपछि केही निको लागेपछि घर फर्किएका थिए । थप केही समस्या भए बुटवल लैजानु भनेर क्लिनिकले समेत जानकारी दिएको आमा लीला बताउँछिन् । भैरहवा सोयाबिन उद्योगमा कार्यरत बुवा ताराप्रसाद साँझ कामबाट फर्किए । खानपिन गरेर रातिको समयमा फेरि दुखाइले च्यापेपछि छोरीलाई अटोमा राखेर नजिकै झारफूक गर्ने माताकोमा लगे । 

सैनामैना–१० बेमटेनी टोल र ज्ञवालीको घर फुलबारी टोलको दूरी बढीमा डेढ किलोमिटरको छ । माताले शुरूमा पानीले छ्यापिन, पहेलो अक्षता हानिन् । दिनभर ग्लुकोज चढाएकी कमजोर छोरीलाई यातना दिएको देखेर आमाले रोक्न खोजिन् । त्यतिबेला माताका बुवाआमाले सम्झाउँदै भनेका थिए, ‘यो सबै यातना छोरीमाथि लागेको बोक्सीलाई हो । छोरीलाई केही हुँदैन ।’

‘जति पिटे पनि छोरीलाई दुख्दैन, बोक्सीलाई दुख्छ भनेर माताले पिट्न थालिन्,’ रुँदै मृतककी आमाले भनिन्, ‘माताले बोक्सी नचाएर देखाउँछु भन्दै त्यसको भिडियो समेत खिच्न मृतककी मामालाई भनिन् ।’

सीताको मृत्यु भएपछि राति १० बजे मामा ईश्वरी पोखरेलले फोन घुमाउन थाले । भान्जीको अन्त्यष्टि गर्न आफ्ना आफन्तलाई खोजे । यही क्रममा शान्ति टोल सालघारीकी कमला पोखरेललाई फोन गरे । एक्लै भएको र भान्जीको अन्त्यष्टि गर्न समस्या भएको बताएसँगै अत्तालिएर कमलाले हिँड्ने तयारी गरिन् ।

रातिको समय बाटोमा एक्लै जान समस्या भएपछि उनले छिमकी विष्णु पोखरेललाई छाडिदिन आग्रह गरिन् । परीक्षाको तयारीमा रहेका विष्णु पोखरेल अबेरसम्म आफ्नो तयारीमा थिए ।

कमलाको आग्रहमा उनी मोटरसाइकल निकालेर छाड्न गए । किशोरीको शव बाटोमा राखेर भीड भएको ठाउँमा पुगेर कमलाले आवश्यक जानकारी लिइन् । केहीबेरमा कमला र विष्णु घटना बुझेर घरतिर लागे । अनुसन्धानका क्रममा प्रहरीले अहिले दुवैलाई हिरासतमा राखेको छ । यही टोलमा मृतकका मामा ईश्वरी बस्ने हुँदा पनि उनले टोलका साथीभाइलाई बोलाएका थिए ।

घटनामा अनुसन्धान गर्न १७ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी श्यामु अर्यालले जानकारी दिए । ‘बिरामीलाई माताको नाममा यातना दिँदा मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाउँछ । उनलाई उपचारमा लगेको भए बाँच्थिन्,’ डीएसपी अर्यालले भने ।

सैनामैना नगरपालिका–१० का वडाध्यक्ष कृष्णप्रसाद घिमिरे वडामा अकल्पनीय घटना भएको बताउँछन् । घटनालगत्तै कार्यालयमा कुनै पक्षको उजुरी नआएको भन्दै उनले घटनाको भिडियो बाहिर आएपछि अनुसन्धान गरिएको बताए । हात हेराउने माताले आफैंले भिडियो खिच्न भनेको पाइएको भन्दै उनले घटनापछि मृतकका मामाले फोन गरेर बोलाएका छिमेकीलाई प्रहरीले अनुसन्धानको नाममा हिरासतमा राखिँदा केही समस्या भएको अध्यक्ष घिमिरेले बताए ।

सैनामैना नगरपालिका–१० की २२ वर्षीया अविवाहित संज्ञा रेश्मीले आफूलाई माता दाबी गर्दै आएको धेरै लामो समय भएको छैन । 

salt training

कमेन्ट गर्नुहोस्