२९ असार २०८३, सोमबार

बागमती प्रदेशसभा बैठकबाट विधेयक पारित हुन कठिनाइ

फागुन ३०, २०७९
बागमती प्रदेशसभा बैठकबाट विधेयक पारित हुन कठिनाइ

बागमती प्रदेशसभा अन्तर्गत रहेका विभिन्न ५ वटा समितिका अध्यक्षसहित पदाधिकारीले अहिलेसम्म पूर्णता पाउन नसक्दा प्रदेशसभा बैठकमा प्रस्तुत हुने विभिन्न विधेयकको दफाबार छलफल हुनबाट वञ्चित रहनुपरेको छ ।

प्रदेशसभा नियमावली २०७४ को गठन आदेशअनुसार प्रदेश सभामा ५ वटा समिति रहने व्यवस्था छ । प्रदेशसभा सचिवालयका अनुसार प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, अर्थ तथा विकास समिति, शिक्षा, स्वास्थ्य तथा कृषि समिति र उद्योग, पर्यटन तथा वातावरण समिति रहने समितिमा क्रमशः अध्यक्ष र सचिव रहने व्यवस्था गरिएको थियो ।

बागमती प्रदेशसभाका सदस्यसहित ५ वटा समितिका अध्यक्ष र पदाधिकारीको विक्रम संवत् २०७९ असोज ३ गते पदावधि समाप्त भएपछि पाँचै वटा समितिका अध्यक्ष र पदाधिकारीको पद रिक्त हुन पुगेको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

प्रदेशसभा दोस्रो कार्यकालको ११औं बैठक सकिएलगत्तै केही दिनअघि ती ५ वटै समिति र पदाधिकारीको संसद्मा प्रतिनिधित्व गर्ने सबै दलको बीचमा निर्वाचन गर्ने क्रममा छलफल हुँदा नेकपा एमाले, नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत अन्य दलले अध्यक्षसहित २ वटा समिति माग गरेको हुनाले तत्कालै निर्वाचनका लागि सहमति हुन नसकेको बताइएको छ ।

समितिको अध्यक्षको निर्वाचनका लागि ढिलाइ भइरहेकाले ती सबै समितिमा विभिन्न नीतिको दफाबार छलफल र संशोधनको प्रस्ताव राख्न कठिनाइ भएको प्रदेशसभा सदस्य आशा लामाले बताए ।

नेपाली कांग्रेसका नेता तथा प्रदेशसभाका सदस्य छिरिङ दोर्जे लामाले प्रमुख दलका नेताहरूको दम्भ र अहमले गर्दा तत्कालै समितिको अध्यक्षको चयन गर्न अवरोध भएकाले प्रदेशसभामा हिउँदे र वर्षे अधिवेशनमा प्रस्तुत हुने विभिन्न विधेयकमाथि विभिन्न समितिमार्फत दफाबार छलफल गर्न र सदस्यले उठाएका सुझावलाई पनि उठाउन नसकिएको बताए ।
 
राप्रपाका नेता तथा प्रदेशसभाका सदस्य उद्धव थापाले प्रदेश सभामा प्रस्तुत हुने राष्ट्रिय सरोकारको विषय र सरकारद्वारा ल्याइएका विभिन्न विधेयकमाथि प्रदेशसभा अन्तर्गत पर्ने विभिन्न समितिमा दफाबार छलफल गरेर कामको सुझावलाई समेट्ने गरी प्रतिवेदन तयार गर्न अहिले समितिको निर्वाचन नहुँदा निकै समस्या उत्पन्न भई प्रदेश सभाको पूर्ण बैठकबाट विधेयक पारित गर्न अप्ठ्यारो परेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा खनालले दलीय स्वार्थभन्दा माथि उठेर ५ वटै समितिको निर्वाचनलाई आपसी सहमतिको आधारमा छिट्टै टुंगो लगाउनुपर्ने राय दिए ।

नेकपा एमालेका नेता तथा प्रदेशसभा सदस्य एकलाल श्रेष्ठले प्रमुख दलहरूको हितमा आफ्नो हक त्यागेर प्रदेश सभामा प्रस्तुत हुने विभिन्न विधेयकलाई छिटोछरितो ढंगबाट पारित गर्न विभिन्न समितिमा दफाबार छलफल गरेर अन्तिम प्रतिवेदनमा समेटिएको सुझावलाई प्रदेशसभा बैठकले अनुमोदन गर्ने परम्परा भएअनुसार अब छिट्टै दलको सहमतिको आधारमा ती ५ वटै समितिको निर्वाचन गर्ने तयारी भइरहेको जानकारी दिए ।

नेकपा माओवादी केन्द्रका नेता एवं प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले प्रदेश सरकार र दलहरूको बीच समन्वय र सहकार्य गरेर छिट्टै समितिको पदपूर्ति गर्न सरकारलाई आग्रह गरेका छन् ।

यसैबीच प्रदेश सभामुख भुवनकुमार पाठकले प्रदेश सभामा रहेको ५ वटा समितिका अध्यक्ष र पदाधिकारीको आगामी चैतको ५–६ गतेभित्रै दलीय सहमतिअनुसार निर्वाचन प्रक्रियाद्वारा पदपूर्ति गरिने जानकारी दिए ।

प्रदेशसभाको पहिलो कार्यकालको पहिलो बैठक २०७४ माघ १८ गतेदेखि शुरू भएको थियो । बागमती प्रदेशसभामा अहिले ७ वटा राजनीतिक दलसहित ११० जना प्रदेशसभा सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्