धेरै दिन भो नेपाल आको धेरै ठाउँमा घुमियो । त्यै ठाउँको सम्झनामा मेरो मनमा हुर्हुर्यो ।। नयाँ ठाउँको त्यो फूल खोज्न टिप्न मनलाग्यो । फूलको माला हातमा लिई तिमीलाई भेट्न मनलाग्यो ।।
यो गीत कुनै नेपाली गीतकारले लेखेको र गायकले गाएको सोच्नु भएको भए तपाईं गलत हुनुहुन्छ । यो त जापानी महिलाले गाएको नेपाली गीत हो ।
झट्ट सुन्दा र उनलाई देख्दा लाग्न उनी नेपाली नै हुन् । तर, शारीरिक वनावटमा हिमाली शेर्पीनि जस्ती देखिएपनि उनको वास्तविक पहिचान जापानी नागरिक हो ।
१७ बर्षदेखि नेपालमा नियमित बस्दै आएका जापानिज युवती हुन् मिका ताकागी । जसले नेपाली गीत संगीलाई असाध्यै माया गर्छिन् ।
माथिका शब्दहरु रेशम फिरिरीको भाकामा जापानी महिला मिका ताकागीले रचेकी हुन् । लामो नेपाल बसाइको क्रममा मिकाको नाम समेत नेपालीकरण भएको छ । उनलाई चिन्नेहरुले उनको नामको अगाडि सुन्दरी थपिदिएका छन् ।
सुन्दरी मिका गीत रच्न मात्रै होइन त्यो गीतलाई नेपाली भाकामा दुरुस्त गाउन पनि खप्पिस छिन् ।
मिका पहिलोपटक नेपाल आएको त २७ बर्ष नै भइसक्यो । नियमितरुपमा १७ बर्षदेखि उनको घर नेपाल बनेको छ । नेपाली भाषा,संस्कृति र लोकगीतमा असाध्यै रुची राख्ने मिकाले नेपाली र विभिन्न जनजातिको भाषा समेटेर अहिलेसम्म दुईवटा गीति एल्बम बजारमा ल्याईसकेकी छिन् । पहिलोपटक उनलाई भेट्ने र उनीसँग बोल्ने नेपालीहरु झुक्किन्छन् नै । निकै ढाँचा पु–याएर नेपाली बोल्न खप्पिस मिका उतिकै सुन्दरी पनि छिन् । मिका नेपाली बाहेक पनि नेपालभाषाको गीत पनि स्वर मिलाएर गाउन सिपालु छिन् । नेवारी भाषा पूर्णरुपमा नबुझेपनि अर्थ बुझेर गीत गाउन सक्ने उनले बताइन् ।
सन् १९९९ देखि नियमित रुपमा नेपाल बस्न थालेदेखि नै उनको मोह नेपाली भाषा र गीत संगीतमा पर्यो । मिकाले लोक गायिका मीरा राणासँग गायन सिकेकी थिइन् । वरिष्ठ गायिका राणासँग विशेषगरी उनले लोकगीतमा विशेष रुची राखिन् ।
नेपाल लोकगीतप्रतिको मोह नेपालीमाझ नै घट्दै गइरहेको समयमा एउटी विदेशी युवती नेपाल आएर नेपाली लोकगीतमा चासो राख्दै गीति एल्बम समेत निकाल्नु एउटा उदाहरणीय काम हो ।सन् २००३ मा नेपाली गीती एल्बम सुन्दरी नेपाली बजारमा ल्याएकी थिइन् । जसमा ११ वटा नेपाली गीतहरु रहेका छन् । आधुनिक गायक सुनिल बर्देवाको संगीतमा उनले उक्त एल्बम तयार गरेकी थिइन् ।
मिकाले उक्त एल्बममा रहेका नेपाली गीतलाई जापानीज भाषामा समेत अनुवाद गरेर सुन्दर जापानी एल्बम समेत निकालिन् । मिकाको नेपाली भाषा, संस्कृति र लोकगीतप्रतिको रुची र योगदान देखेरै पूर्वराजा ज्ञानेन्द्र शाहले उनलाई सन् २००४ मा गोरखा दक्षिणबाहु चौथोबाट समेत सम्मान गरेका थिए । सम्मानपछि भने झन् नेपाली भाषा र लोकसंगीतप्रति लाग्ने प्रेरणा मिलेको उनी बताउँछिन् ।
सन् २००८ मा उनले आशावादी नामक नेपाली गीति एल्बम समेत बजारमा ल्याइन् । जसमा विभिन्न नेपाली आदिवासीका नेवारी,तामाङ,राई, शेर्पा र मैथली भाषाका समेत गीतहरु समावेश गरिएको थियो ।
उनको नेपाल बसाई नेपाली गीतसंगीतमा मात्रै सिमित छैन । नेपाल बसाईका क्रममा थुप्रै सामाजिक कार्यमा समेत हात राखेकी छिन् उनले ।
तीनबर्ष अघि नेपालमा आएको भूकम्पपछि उनले काठमाडौं सुन्दरीजलमा तेराकोया टयुशन सेन्टरको स्थापना गरेकी थिइन् । जसमा भूकम्पपछि स्कूलबन्द भएपछि विद्यार्थीहरुलाई सेन्टरमै राखेर पढाई सञ्चालन र होमवर्क समेत गराउने प्रबन्ध मिलाएकी थिइन् ।
नेपालमा उत्पादित हस्तकलाका सामाग्रीहरुलाई जापानमा लगेर बजार प्रबन्ध मिलाउनुको लागि ब्रान्कामोनरितो नामक हस्तकला संस्था खोलेकी छिन । जसले नेपालमा उत्पादित हस्तकला,स्वीटर,इम्ब्रोइडरीका सामानहरु जापानमा बिक्री गर्ने काम गर्छ । यसले यहाँ रहेका नेपाली महिलाहरुलाई रोजगारीको सिर्जन गर्ने काम गर्छ् । यसले जापानमा नेपालको पर्यटन प्रबद्र्धन गर्न सहयोग मिल्ने उनको धारणा छ ।
हालै उनी भक्तपुरस्थित मानवअंग प्रत्यारोपन केन्द्रमा स्वयमसेवीको काम गर्दै आएकी छिन् । मृत्युपश्चात मानवअंग दान गर्ने केन्द्रमा उनी स्वयमसेवी हुन् ।
जापानको टोकियोनजिकै खानागावा शहरमा घर छ उनको । परिवारमा एक्ली छोरी मिका अविवाहित हुन् । विवाहको बारेमा सोध्दा उनी लजाइन् ।
उमेर सोध्दा नबताउने भन्दै जिद्दी गरेकी मिकाले उपयुक्त नेपाली केटा पाए विवाह गर्ने बताइन् । शुरुमा नेपाल बसाइ गर्दा परिवारले नमानेको उनी स्मरण छ, ‘पछि त आमाबुबाले समेत मेरो नेपाल बसाईमा मौनस्वीकृति दिनुभयो ।’